हायर पर्चेज कर्जा दिने कम्पनीलाई ५ करोडसम्म जरिवाना हुने

काठमाडौं । हायर पर्चेज कर्जा दिने कम्पनीले सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधि गरेको पाइएमा ५ करोड रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी नीतिगत व्यवस्था गर्दै जरिवाना तोकेको हो।

राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधि भएको पाइए हायर पर्चेज कर्जा दिने कम्पनी र त्यस्ता कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई १० लाखदेखि ५ करोड रूपैयाँसम्म जरिवाना हुनेछ ।

हायर पर्चेज कर्जा दिने कम्पनीले नीति तथा कार्यविधि नबनाएको पाइएमा पहिलो पटकका लागि लिखित रुपमा सचेत गराउने, दोस्रो पटकदेखि १० लाख वा गाम्भीर्यताको आधारमा ५ करोड रुपैयाँसम्म जरिवाना हुनेछ ।

त्यसैगरी, ग्राहक पहिचान सम्बन्धी (केवाइसी) व्यवस्था कार्यान्वयन नभएमा वा प्रभावकारी नभएमा पहिलो पटकका लागि लिखित रुपमा सचेत गराउने, दोस्रो पटकका लागि १० लाख रुपैयाँ जरिवाना गर्ने, तेस्रो पटकदेखि ५० लाख रुपैयाँ वा गाम्भीर्यता अनुसार थप जरिवाना गरिने राष्ट्र बैंकले जनाएको छ ।

कम्पनीले जानीबुझी बेनामी वा काल्पनिक नाममा कारोबार गरेको पाइएमा ५० लाख वा गाम्भीर्यता अनुसार थप जरिवाना गर्ने व्यवस्था पनि गरेको छ ।

यस्तै, पटक पटक प्रणालीगत समस्या भएमा कारोबार वा ब्यवसायमा आंशिक वा पूर्ण रोक लगाउने वा इजाजतपत्र निलम्वन वा खारेज गर्ने सम्मको कारबाही गर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यी निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

तीन हाइड्रोलाई वनको जग्गा प्रयोग गर्न अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू Read Previous

तीन हाइड्रोलाई वनको जग्गा प्रयोग गर्न अनुमति, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

फेरि घट्यो पेट्रोलियम पद्धार्थको मूल्य Read Next

फेरि घट्यो पेट्रोलियम पद्धार्थको मूल्य