काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालनमा ल्याउने भएको छ ।
महानगरले आज एक सूचना जारी गर्दै यो व्यवस्था १५ दिनपछि पूर्णरुपमा कार्यान्वयनमा ल्याउने जानकारी गराएको हो ।
महानगरले सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकलाई १५ दिनभित्र सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न आग्रह गरेको छ । सोपछि महानगर भित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।
‘निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने छ,’ सूचनामा भनिएको छ।
सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।