 
			काठमाडौं । नेपाल उद्योग परिसंघले विद्युत् प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले एक विज्ञप्ति जारी नेपालका उद्योगहरूमा लोडसेडिङ्ग यथावत राख्दै प्राधिकरण विद्युत् निर्यात गरेकोमा आपत्ति जनाएको हो ।
खोला तथा नदीहरूमा पानीको बहाव बढी विद्युन् उत्पादन बढेको भन्दै प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात थालेको थियो । देशभित्र खपत गरी बढी भएको बिजुली मात्र भारतलाई बेचिएको प्राधिकरण भनाइ छ ।
तर, प्राधिकरणले नेपाली उद्योगमा लोडसेडिङ गरी भारतलाई बिजुली बेचिरहेको भन्दै परिसंघले आपत्ति जनाएको हो । सरकारले निजी क्षेत्रको मनोबल बढाउने प्रयास गरिरहे पनि प्राधिकरणले भने स्वदेशी उद्योग मारेर बिजुली बेचेको परिसंघको भनाइ छ ।
‘सरकारले स्वदेशी उद्योगहरूको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं’ सीएनआईले भनेको छ ।
अहिले विद्युत् बचत हुँदा पनि स्वदेशी उद्योगलाई उपलब्ध नगराइ प्राधिकरणले भारतलाई बेचिरहेको परिसंघको आरोप छ ।
‘हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै गरेन । जसको मारमा उद्योगहरू विगत तीन महिनाअघि देखि पर्दै आएका छन् । अहिले विद्युत बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ,’ परिसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरूको प्रबद्र्धनमा सहयोग गर्न परिसंघ आग्रह गरेको छ । उद्योगहरूलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघको माग छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                