काठमाडौं । यो साता सेयर लगानीकर्ताको लागि सुखद रहेको छ । साताको सबै कारोबार दिनमा सूचक बढेको छ ।
कारोबार रकममा पनि उच्च वृद्धि आएसँगै बजारले गति लिने अनुमान गरिएको छ ।
बजारले गति लिँदै गएपछि लगानीकर्ता थप उत्साहित र आशावादी बन्दै गएका छन् । लगानीकर्ताको मनोबल बढ्दै गएकाले बजारमा सेयरको मागसँगै कारोबार पनि बढेको छ ।
यस साता शेयर बजार परिसूचक नेप्से करिब ४० अंकले उक्लियो । आइतबार ११३१.९२ बिन्दुबाट शुरु भएको कारोबार बिहिबारसम्म ४०.७२अंकले बढेर ११७२.६४ अंकमा पुगेको छ ।
यस साता कारोबार रकम पनि करिब ८७ प्रतिशतले बढ्यो । कूल १ सय ९० कम्पनीको २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । ८२ लाख ४६ हजार कित्ता शेयर खरिद बिक्री भए ।
यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रह्यो । बैंकको १३ करोड ९० लाख रुपैयाँको कारोबार भयो ।
कारोबार रकमकै आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, माछापुच्छ्र बैंक र स्वाबलम्ब लघुवित्त वित्तीय संस्थाले शीर्षा पाँचमा रहे ।
यस साता ओरियन्टल होटलको ५ लाख ३७ हजार १ सय ८५ कित्ता बोनश सेयर सूचीकृत भयाे ।