काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा झण्डै सवा १ खर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार वैशाखसम्म जीवन बीमा व्यवसाय गर्ने १७ कम्पनीले कुल १ खर्ब २१ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । जसमा १४ जीवन बीमा कम्पनीले १ खर्ब २१ अर्ब ३५ करोड र लघु जीवन बीमा कम्पनीले १० करोड १ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
झण्डै सवा १ खर्बको व्यवसाय गरेका जीवन बीमा कम्पनीहरूले उल्लेख्य रुपमा नयाँ पोलिसी बिक्री गर्न नसके पनि पुरानै पोलिसी नवीकरणले व्यवसाय धानेको देखिन्छ । कुल व्यवसायमा पोलिसी नवीकरणबाट उठेको बीमाशुल्कको हिस्सा ७९.९६ प्रतिशत रहेको छ ।
वैशाखसम्म जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क बापत २४ अर्ब ३३ करोड र नवीकरण शुल्क बापत ९७ अर्ब १२ करोड रुपैयाँ संकलन गरेका छन् ।
जीवन बीमा कम्पनीले वैशाख महिनामा मात्रै ११ अर्ब २९ करोड रुपैयाँ बीमा शुलक संकलन गरेका छन् । कुल ४ लाख ५७ हजार ९८५ वटा पोलिसीबाट उक्त रकम संकलन गरेका हुन् ।
वैशाख महिनासम्म जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ५४ हजार ५७१ वटा रहेको छ ।
कुनले कति संकलन गरे बीमा शुल्क ?
समीक्षा अवधिमा बीमा शुल्क संकलनमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । १० महिनामा नेपाल लाइफले मात्रै ३२ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.६५ प्रतिशत हिस्सा हो ।
गत वर्ष ३ कम्पनी मर्ज भई दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफले व्यवसायमा नेपाल लाइफलाई टक्कर दिन सकेको देखिँदैन । नेपाल लाइफको तुलनामा हिमालयनको व्यवसाय आधाभन्दा कम छ । वैशाखसम्म हिमालयनले १३ अर्ब ५१ करोड बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी, वैशाखसम्म नेशनल लाइफले १४ अर्ब ३३ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब २३ करोड, राष्ट्रिय जीवन बीमाले ५ अर्ब ७६ करोड, मेट लाइफले ४ अर्ब ५७ करोड, एशियन लाइफले ६ अर्ब ३८ करोड, आइएमई लाइफले ३ अर्ब ६५ करोड बीमा शुल्क संकलन गरेका छन् ।
त्यसैगरी, रिलायब नेपाल लाइफले ३ अर्ब ३४ करोड, सिटिजन लाइफले ४ अर्ब ७० करोड, सूर्यज्योति लाइफले ७ अर्ब २७ करोड, सानिमा रिलायन्सले ४ अर्ब ६९ करोड बीमा शुल्क आर्जन गरेको छ ।
वैशाखसम्म सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
लघुबीमाको हिस्सा नगन्य
समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको १० महिनामा कुल १० करोड १९ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल व्यवसायकको ०.०८ प्रतिशत मात्र हो ।
वैशाखसम्म गार्डियन माइक्रो लाइफले २ करोड ४७ लाख, क्रेष्ट माइक्रो लाइफले ६ करोड ३३ लाख र लिबर्टी माइक्रो लाइफले १ करोड ३७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।