सार्वजनिक संस्थानको नाफा ३१ गुणा बढ्यो, १५ वटा घाटामा, सबैभन्दा धेरै कमाउने निगम

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानहरूको खुद नाफामा उछाल आएको छ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार गत वर्ष संस्थानहरूको खुद नाफा अघिल्लो आवको तुलनामा ३०५० प्रतिशतले अर्थात् साढे ३१ गुणाले बढेको छ ।

गत आवमा सार्वजनिक संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आव २०७८/७९ मा सार्वजनिक संस्थानहरूले कुल १ अर्ब ५४ करोड मात्र खुद नाफा कमाएका थिए ।

हाल अस्तित्वमा रहेको ४४ सार्वजनिक संस्थान मध्ये गत वर्ष २६ वटा संस्थान नाफामा गएका हुन् । त्यस्तै, १५ वटा संस्थान घाटामा रहेका छन् भने ३ वटाको कारोबार शून्य रहेको छ ।

गत वर्ष सार्वजनिक संस्थानहरूको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ ।संस्थानको शेयरधनी कोष (नेटवर्थ) अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई ९ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधिमा ३२ वटा संस्थानको सेयरधनीकोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक रहेको छ ।

गत वर्ष सार्वजनिक संस्थानहरू नाफा बढ्नुको मुख्य कारण नेपाल आयल निगम नाफामा जानु हो । अघिल्लो वर्ष ३८ अर्ब १७ करोड घाटामा रहेको निगम गत वर्ष भने ११ अर्ब ७२ करोड नाफा रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष सबैभन्दा धेरै नाफा गर्ने संस्थानहरूमा क्रमशः नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् ।

त्यस्तै, धेरै घाटा व्यहोर्ने संस्थानहरूमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन शीर्ष पाँचमा छन् ।

निजीकरण गरिएका १८ वटा संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता खारेजी भई कानुनीरूपमा अस्तित्व समाप्त भएको छ ।

कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा मन्त्रिपरिषद्को विसं २०७९ भदौ ३१ को निर्णयानुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन ।गत आवमा ४४ मध्ये २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् भने २४ वटाले गराएका छैनन् ।

हाल नेपालमा ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन् । जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान रहेका छन् । स्वामित्वका आधारमा हेर्दा २० वटा सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् ।

संस्थानका नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.६२ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख पुगेको छ । गत आर्थिक वर्षको तुलनामा सेयर लगानी ९.१९ प्रतिशतले वृद्धि भई ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख पुगेको छ भने ऋण लगानी ७.८६ प्रतिशतले कमी आई २ खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख पुगेको छ ।

सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको समेत अर्थ मन्त्रालयको तथ्यांक छ ।

 

नेप्सेमा दोहोरो अंकको करेक्सन, २१५ कम्पनीको मूल्य घट्यो Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्सन, २१५ कम्पनीको मूल्य घट्यो

आइएमई लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

आइएमई लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?