साँगा-धुलिखेल सडक विस्तार तीव्र गतिमा

अरनिको राजमार्ग अन्तर्गत साँगा–धुलिखेलको सडकखण्डमा पर्ने काभ्रेपलाञ्चोकको बनेपा नगपालिका–७ स्थित बजार क्षेत्रमा सडक संरचनाका लागि वाल निर्माण गर्दै मजदुर ।

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडक विस्तारले तीव्रता पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुई वटा ठेक्का लागेको थियो । सोही ठेक्का अनुसार विसं २०७९ फागुन १६ गतेदेखि साँगाबाट सडक विस्तार सुरु भएको हो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न लागिएको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार सडक विस्तार तीव्र रुपमा भइरहेको छ । प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म सडक छेउमा पर्खाल निर्माण भइरहेको छ ।

उनले सडक विस्तार अन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको जानकारी दिए । यसअघि धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपासम्म सडक चौडा बनाउन पर्खाल तथा कल्भर्ट निर्माण भइरहेका थिए । दासले भने ‘हाल कामले निरन्तरता पाएको छ, कुनै समस्या तथा रुकावट छैन ।’

अब मनसुन सुरु हुने भएकाले खोला तथा बाढीले प्रभावित बनाउन सक्ने चुनौती रहेको उनले बताए। उनका अनुसार यसअघि सडक मापदण्डमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भई सहमति अनुसार काम भइरहेको छ ।

आयोजनाको सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिका अनुसार साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रविन्दूबाट दायाँबायाँ २५ गज अर्थात् २२.८६ मिटर कायम हुनेछ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५÷२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो ।

सडक विभागका अनुसार कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि रु ४ अर्ब ५करोड ६४ लाखमा ठेक्का लगाइएको थियो । दोस्रो चरणमा सुरु भएको सूर्यविनायक(साँगा सडकखण्ड ७.५ किमी छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)मा केही परिवर्तन भएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०र२० मिटरको तीन वटा पुल, जगाति र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने छ । पुल निर्माण गर्न प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको हो । अनुमानित लागत रु ९० करोड रहेको कार्यालयले जनाएको छ ।

हाल कोटेश्वरबाट लामा दूरीका सवारी दैनिक यही सडक भएर एक हजारभन्दा बढी छुट्ने गरेका छन् । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै सवारी काठमाडौँ–पूर्वी तराई जान्छन् भने उत्तरी नाका तातोपानी पुग्न यही सडक प्रयोग हुन्छ । केही महिनाअघि चीनसँगको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भएपछि राजमार्गमा सवारी चाप बढेको हो ।रासस

आगामी वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे Read Previous

आगामी वर्षको बजेट भाषण मंगलबार दिउँसो १ बजे

नेप्सेमा दोहोरो अंकको करेक्सन, २१५ कम्पनीको मूल्य घट्यो Read Next

नेप्सेमा दोहोरो अंकको करेक्सन, २१५ कम्पनीको मूल्य घट्यो