काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाल २७२ कम्पनीको सूचीकृत छन् । नेप्सेमा १३ क्षेत्रका कम्पनीहरू सूचीकृत छन् । जसमा बैंक तथा वित्तीय संस्था हाइड्रोपावर कम्पनीहरूको वर्चश्व रहेका छ भने रियल सेक्टरका कम्पनी डेढ दर्जन मात्र छन् ।
नेप्सेमा संख्याका आधारमा बैंक तथा वित्तीय संस्था र हाइड्रोपावरको हिस्सा ८३ प्रतिशत बढी छ । तर, महँगो सेयर मूल्य हुने कम्पनीमा भने यी क्षेत्रका कम्पनी छैनन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा चुक्ता पूँजी धेरै भएकाले सेयर आपूर्ति धेरै हुँदा यी क्षेत्रको कम्पनीको मूल्य तुलनात्मक रुपमा कम नै छ ।
नेप्सेमा उत्पादनमूलक क्षेत्रका २२ कम्पनी सूचीकृत भए पनि १० कम्पनी मात्रै कारोबार योग्य छन् । तर, सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनीमध्ये अधिकांश यही क्षेत्रका छन् ।
हाल नेप्सेमा सूचीकृत २७२ कम्पनी मध्ये ४ कम्पनीको मात्रै सेयर मूल्य १२ हजार रुपैयाँ माथि छ । तीमध्ये ३ उत्पादनमूलक र एउटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।
युनिलिभर नेपाल, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १२ हजार रुपैयाँ माथि छ । जसमा युनिलिभर सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो ।
यी कम्पनीहरूको सेयर संख्या अति न्यून भएको र आकर्षक वित्तीय अवस्थाका कारण सेयर मूल्य उच्च भएको हो । यी कम्पनीले वर्षेनी बम्पर लाभांश दिँदै आएका छन् भने हजारौं प्रतिशतमा लाभांश दिन सक्ने क्षमता छ ।
यस्तो छ सबैभन्दा महँगो सेयर मूल्य भएका कम्पनीहरूको चालु आवको चैतसम्मको वित्तीय अवस्था
युनिलिभर : नेप्सेमा सूचीकृत कम्पनी मध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३८ हजार ४०० रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमासमा युनिलिभरको खुद नाफा ३०.४६ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले ४८ करोड ६१ रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै ११ करोड रुपैयाँ बढी हो । गत वर्ष चैतसम्म कम्पनीले ३७ करोड २६ लाख लाख रुपैयाँ नाफा कमाएको थियो ।
उत्पादन बिक्री आम्दानी बढ्दा र खर्च घट्दा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.२६ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको थियो।
यस अवधिमा कम्पनीले खर्च ६.११ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्ष तेस्रो त्रैमासमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको खर्च यस वर्ष घटेर १ अर्ब ४५ करोड रुपैयाँमा झारेको छ ।
हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१५२ रुपैयाँबाट बढेर वार्षिक २२०२ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ ।
बोटलर्स नेपाल बालाजु : काठमाडौंको बालाजुमा प्लान्ट संचालन गरिरहेको बोटलर्स नेपाल बालाजु दोस्रो महँगो सेयर मूल्य हुने कम्पनी हो । यसको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता १५ हजार ७४६ रुपैयाँ छ ।
यस कम्पनीले चालु आवको ९ महिनामा ३ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९१.१० प्रतिशतले कम हो । गत वर्ष चैतसम्म कम्पनीले ४० करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
आर्थिक मन्दीका कारण कुल आम्दानी घट्दा र वित्तीय लागत बढ्दा कम्पनी घाटामा गएको हो । साथै, कच्चा पदार्थको मूल्य वृद्धि, बिक्रीवितरण लागत बढेकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३ करोड रुपैयाँ घटेर ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको कुल नाफा २ अर्ब २८ करोड ७५ लाख रुपैयाँबाट घटेर २ अर्ब ४ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, संचालन मुनाफा ६५ करोड ९३ लाख रुपैयाँबाट घटेर ४४ करोड ४६ लाख रुपैयाँमा झरेको छ ।
यस्तै, वित्तीय लागत दोब्बरले बढेर ९ करोड बढेर २३ करोड २३ लाख रुपैयाँ पुगेको छ । हाल १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीके जगेडा कोषमा ५ अर्ब ७० करोड रुपैयाँ संचित छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । गत वर्ष २७५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष घटेर २४ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार २२९ रुपैयाँ छ ।
राष्ट्रिय बीमा कम्पनी : सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी तेस्रो महँगो मूल्य हुने कम्पनी हो । यसको अन्तिम कारोबार मूल्य १३ हजार ४३० रुपैयाँ रहेको छ ।
यस कम्पनीले चालु आवको तेस्रो त्रैमासमा खुद नाफा २४.७८ प्रतिशतले घटेको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७ करोड रुपैयाँ कम हो । कम्पनीले कम्पनीले गत वर्ष चैतसम्म ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क, लगानी तथा ऋणबाट आय हुने आम्दानी घट्दा नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ६३.२० प्रतिशत घटेर १ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ ।
यस्तै, कम्पनीको यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी १०.२८ प्रतिशतले घटेर ६८ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३०.७० प्रतिशतले बढेर १६ करोड ४ लाख रुपैयाँमा झरेको छ ।
हाल २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा ३ अर्ब ३१ करोड रुपैयाँ संचित छ । त्यस्तै, महाविपत्ती कोषमा ४६ करोड १३ लाख र रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २५८.१९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६११.२९ रुपैयाँ छ ।
बोटलर्स नेपाल (तराई) : चितवनमा प्लान्ट सञ्चालन गरिरहेको बोटलर्स नेपाल (तराई) १२ हजार माथि सेयर मूल्य हुने चौथो कम्पनी हो । अन्तिम सेयर कारोबार मूल्य १२ हजार ८०० रुपैयाँ छ ।
यस कम्पनीले चालु आवको चैतसम्म २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २७.२९ प्रतिशत कम हो । गत वर्ष चैतसम्म कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १८ करोड घटेर ५ अर्ब ८१ करोड रुपैयाँ सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ९९ करोड थियो ।
त्यस्तै, कम्पनीको संचालन नाफा १० करोड रुपैयाँ घटेर ४८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ६८ लाख रुपैयाँ घटेर २० करोड १२ लाख रुपैयाँमा झरेको छ ।
हाल १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ९८ करोड रुपैयाँ संचित छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ११० रुपैयाँ घटेको छ । गत वर्ष ३९८ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालु आवमा २८८ रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने बढेर ३ हजार ३९७ रुपैयाँ पुगेको छ ।