काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यो सरकारको लक्ष्यभन्दा २ प्रतिशतले कमी हो । सरकारले चालू वर्षमा वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विश्व बैंकले ‘नेपाल डेभलप्मेन्ट अपडेट’ सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो ।
विश्व बैंकले चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा ४, उद्योगमा ८.३ र सेवामा ७.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।
बैंकले सेवा क्षेत्रको बृद्धि, रेमिट्यान्स र भ्रमण वर्ष २०२० ले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरलाई सहयोग गर्ने उल्लेख गरेको छ । बैंकले तीव्र्र गतिमा खुलिरहेका होटलहरु, सञ्चालनमा आउन लागेका एयरपोर्ट र पूर्वाधारमा भएका लगानीले पनि आर्थिक वृद्धिदरमा सहयोग पुर्याउने बताएको छ ।
नेपालले विगत ३ वर्ष देखि ६.५ प्रतिशतको आर्थिक वृद्धिदरलाई कायम राखेको छ । अधिकांश सूचकहरु बलिया देखिन्छन् । तर, रेमिट्यान्समा आधारित खपतले अर्थतन्त्रलाई अस्थिर बनाउने बैंकको तर्क छ ।
बैंकले नेपालमा स्थिर र उच्च आर्थिक वृद्धि हुनका लागि मौसम, विप्रेषण, पर्यटन, सहज विद्युत आपूर्ती र राजनीतिक स्थायित्वको भूमिका महत्वपूर्ण हुने बताएको छ ।
धानको उत्पादनमा केही कमी भएपनि उद्योग क्षेत्रमा राम्रा संकेत देखिएकाले उच्च वृद्धिदर कायमै हुने बैंकले प्रक्षेपण गरेको छ । जलविद्युत तथा निर्माणजन्य उद्योगमा भएको लगानी तथा अन्य उत्पादनमूलक क्षेत्रमा भएको लगानीको प्रतिफल आउने समय सुरु भएकाले पनि अर्थतन्त्र थप विस्तार हुने बैंकको प्रक्षेपण छ ।