काठमाडौं । यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको प्रायोजन कतार एयरवेजले गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक कार्यक्रमबीच कतार एयरवेजसँग २०७६ सालको लिगका लागि सम्झौता गरेको छ । नेपाली फुटबल लिगले विदेशी प्रायेजक पाएको यो पहिलो पटक हो ।
एयरवेजले एक वर्षको लागि करिब १ करोड ७० लाख रुपैयाँ (१ लाख ५० हजार अमेरिकी डलर) उपलब्ध गराउने भएको छ । प्रायोजनको रकम दुई किस्तामा उपलब्ध हुने एन्फाले जनाएको छ ।
एन्फाका अनुसार लिग विजेता टोलीले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । यस्तै उपविजेताले ३५ लाख पाउँदा तेस्रोले २५ लाख पाउने छन् । चौथोले १५, पाँचौँले ७ र छैटौंले ५ लाख रुपैयाँ पाउने छन् ।
हरेक खेल जित्ने टोलीले भने ५० हजार बोनस बापत पाउने भएको छ । प्रतियोगितामा बराबरी खेलेमा दुबै टोलीले १५-१५ हजार रुपैयाँ पाउनेछन् ।
‘ए’ डिभिजन लिग फुटबल शनिबार मंसिर २८ गते) देखि सुरु हुने छ । लिगमा ‘ए’ डिभिजनका १४ क्बलबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले हरेक राउन्डमा सात खेल सञ्चालन गर्नेछ ।
लिगमा कूल ९१ खेल हुनेछ । लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।