बजारमा अझै बढ्न सकेन उपभोग्य वस्तुको माग, वैशाखमा आयात घट्यो

काठमाडौं । बजारमा उपभोग्य वस्तुको माग बढ्न नसकेको देखिएको छ । सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको बताए पनि भन्सारको तथ्यांकले भने शिथिलता कायम नै रहेको देखाएको हो ।

आर्थिक शिथिलताका कारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको खपत घट्दा समग्रमा आयात घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ चैतको तुलनामा वैशाखमा आयात १ अर्ब रुपैयाँ बढीले घटेको छ । पुसदेखि महिनैपिच्छे आयातमा समान्य सुधार हुँदै आएकोमा वैशाखमा भने घटेको हो ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखमा कुल १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँको विदेशी वस्तु आयात भएको छ । चैतमा १ खर्ब ३७ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

विभागका अनुसार चालु आवको १० महिना (साउन-वैशाख)मा कुल १३ खर्ब ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब अर्थात् २.३९ प्रतिशतले कम हो । गत वर्ष वैशाखसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड बराबरको सामान आयात भएको थियो ।

चालु वर्षमा मासिक औसतमा १ खर्ब ३० अर्ब ३३ करोड रुपैयाँको विदेशी वस्तु आयात हुँदै आएको छ । जसमा असोजमा सबैभन्दा धेरै १ खर्ब ४८ अर्ब र कात्तिकमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

त्यस्तै, साउनमा १ खर्ब २९ अर्ब, भदौ १ खर्ब ३० अर्ब, कात्तिकमा १ खर्ब ५ अर्ब, मंसिरमा १ खर्ब ३० अर्ब, पुसमा १ खर्ब २६ अर्ब, माघमा १ खर्ब २९ अर्ब, फागुनमा १ खर्ब ३३ अर्ब र चैतमा १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

चैतसम्म वस्तु आयातबापत लाग्ने भन्सार दस्तुरबाट सरकारले ३ खर्ब ४२ अर्ब रुपैयाँ आम्दानी छ । वैशाखमा मात्रै भन्सारबाट ३६ अर्ब राजस्व उठेको छ ।

१० महिनामा सवा १ खर्बको निर्यात

समीक्षा अवधिमा निर्यातमा पनि गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवको १० महिनामा नेपालबाट हुने निर्यात ३.६१ प्रतिशतले घटेको छ ।

विभागका अनुसार चालु आवको वैशाखसम्म कुल १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ सामान विदेशिएको छ । यो गत वर्षकोभन्दा ४ अर्ब ७४ करोड रुपैयाँ कम हो । गत वर्ष सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको वस्तु नेपालबाट विदेशिएको थियो । यस वर्ष मासिक औसतमा १२ अर्ब ६१ करोड रुपैयाँको सामान निर्यात भएको छ ।

व्यापार घाटामा सुधार

गत वर्षको तुलनामा आयात घटेसँगै व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा २.२६ प्रतिशतले घटेको छ । गत वर्ष वैशाखसम्म १२ खर्ब ४ अर्ब व्यापार घाटा रहेकोमा चालु वर्षको सोही अवधिमा ११ खर्ब ७७ अर्बमा सीमित भएको छ । गत वर्षकोभन्दा व्यापार घाटा २७ अर्बले घटेको हो ।

चालु आवको १० महिनामा कुल १४ खर्ब २९ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा २.५० प्रतिशत कम हो । गत वर्ष वैशाखसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

बैंक चम्किँदा नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

बैंक चम्किँदा नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

बहुप्रकोपिय पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने Read Next

बहुप्रकोपिय पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न करिब ८१ अर्ब लाग्ने