बैंक चम्किँदा नेप्सेमा लगातार उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको वृद्धि भएको छ । आइतबार ४५ अंकले बढेको नेप्से आज पनि २७ अंकले बढेको छ । यससाता दुई दिनमै नेप्से ७२ अंकले बढिसकेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरूले १ आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशत सेयर बेच्न पाउने व्यवस्था गरेसँगै बजारमा उत्साह देखिएको हो ।

सोमबार नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६० करोड रुपैयाँले बढेर ५ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ । यो ४ महिना यताकै धेरै हो ।

आज ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटै समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ ।

आज बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ ।

आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ९२ लाख रुपैयाँ बढीको २ लाख ९२ हजार ९९ कित्ता सेयर किनबेच भएको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सबैको लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बढ्दो बजारमा आज उपकार लघुवित्तका सेयरधनीले सर्वाधिक ७.४० प्रतिशत गुमाएका छन् ।

कुमारी बैंकले मोबाइलबाटै २ लाखसम्म ऋण दिने Read Previous

कुमारी बैंकले मोबाइलबाटै २ लाखसम्म ऋण दिने

बजारमा अझै बढ्न सकेन उपभोग्य वस्तुको माग, वैशाखमा आयात घट्यो Read Next

बजारमा अझै बढ्न सकेन उपभोग्य वस्तुको माग, वैशाखमा आयात घट्यो