१५ बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मालपोत प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कैलाली मालपोत कार्यालयका तत्कालीन प्रमुख मोहन स्नेही सराईलीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार मालपोत प्रमुख सराईली, नापी कार्यालय प्रमुख मानबहादुर चन्द, मालपोतका नायब सुब्बा अग्नीबहादुर शाही, नापीका सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी पूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावल विरुद्ध मुद्दा दायर गरेको हो ।

साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५ बिगाह जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

‘आव. २०८०/२०८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित रू. २४,०६,६९,०००।( सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको हुँदा निजहरू मोहन स्नेही रसाईली र अग्नी बहादुर शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) तथा ऐ.ऐ.ऐनको दफा १२ बमोजिम कसुर गरेको देखिएकोले निजहरुलाई बिगो रु. २४,०६,६९,०००।– (चौबीस करोड ६ लाख उनान्सत्तरी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)बमोजिम कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन साथै ऐ।ऐ। ऐनको दफा १२ बमोजिम कैद र जरिवानासमेत हुन मागदाबी लिइएको छ,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

 

भरतपुरमा ७ वर्षमा ७०० किलोमिटर सडक कालोपत्र Read Previous

भरतपुरमा ७ वर्षमा ७०० किलोमिटर सडक कालोपत्र

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा, १४६४ योजना कार्यान्वयनमा  Read Next

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा, १४६४ योजना कार्यान्वयनमा