भरतपुरमा ७ वर्षमा ७०० किलोमिटर सडक कालोपत्र

सांकेतिक तस्वीर

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो ।

अहिले भने यहाँका सडकको स्वरुप नै फेरिएको छ भने यात्रुले सहजरूपमा यात्रा गर्न पाएका छन् । सात वर्षअघि जनप्रतिनिधि आएसँगै यहाँका सडकको स्वरुप फेरिएको हो । यहाँ यस अवधिमा सात सय किलोमिटर सडका कालोपत्र भइसकेको छ भने बाँकी रहेको एक सय किलोमिटर सडक कालोपत्रका लागि पनि महानगरले योजना बनाइरहेको छ ।

भरतपुर महानगरपालिकाका इञ्जिनीयर साकार लामाले महानगरभित्रको सडकको लम्बाइ १ हजार किलोमिटर रहेकामा ९०० किलोमिटर सडक कालोपत्र गरिसकिएको बताए । महानगर प्रमुख रेनु दाहालको नेतृत्वपछि ७०० किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए । स्थानीय जनप्रतिनिधि आउनुअघि ३०० किलोमिटर सडकमात्र कालोपत्र थियो ।

महानगर प्रमुख दाहाल अघिल्लो कार्यकाल सडक कालोपत्र र विस्तारमा विशेष ध्यान दिएको आगामी तीन वर्षभित्र महानगरभित्रका सबै मुख्य सडक कालोपत्र भइसक्ने योजना रहेको बताउँछिन् । यो अभियानमा स्थानीयसँगै प्रदेश र सङ्घीय सरकारको बजेटबाट सडक कालोपत्र गरिएको उनले जानकारी दिए । आँफू पहिलोपटक महानगरप्रमुखमा निर्वाचित भएपछि सहरी विकास मन्त्रालयमार्फत स्मार्टसिटी पूर्वाधारका लागि विनियोजित रु २ अर्बबाट १७ वटा सहरी सडक निर्माण गरिएको उनले बताए ।

‘भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, वाईपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि सङ्घीय सरकारसँग विशेष पहल गरेर काम गर्न सफल भएका छौँ । अघिल्लो कार्यकालमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान आफ्नो गृहजिल्लामा परेकाले पनि सङ्घीय सरकारका योजना ल्याउन थप सहज भएको हो,’ उनले भने ।

महानगरभित्र मङ्गलपुर-शिवनगर, पार्वतीपुर-शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ सङ्घीय सरकारको बजेटमा निर्माण भएको छ । महानगरको चक्रपथ ८० किलोमिटर छ, जसमध्ये ५५ किलोमिटर कालोपत्र भइसकेको छ । तीन तहका सरकारको साझेदारीमा यो सडक बनेको हो । दाहालका अनुसार हाकिमचोकदेखि सीतामाईसम्म बागमती प्रदेश सरकारको सहयोगमा कालोपत्र सडक बनेको छ भने जगतपुरदेखि शिवघाटसम्मको १६ किलोमिटर सडकको कालोपत्र काम गरिँदै छ ।

सङ्घीय सरकारसँगको सहायक राजमार्गको रूपमा भरतपुरदेखि चनौली मेघौलीहुँदै गोलाघाटसम्मको सडकलाई विकास गरिएको छ । यस सडकलाई विस्तार र व्यवस्थापनका लागि सङ्घीय सरकारसँग थप बजेटका लागि यसवर्ष पनि आग्रह गरिएको महानगर प्रमुख दाहालले जानकारी दिए ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले गाउँका सडक चौडा र कालोपत्र गरेपछि स्थानीय प्रत्यक्ष लाभान्वित भएको बताउँछन् । सडक सरसफाइका लागि महानगरले हालै ब्रुमरसमेत खरिद गरिएको र कालोपत्र सडकका छेउमा वृक्षरोपण गरेर हरियाली र सुन्दर बनाउने अभियानमा पनि अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।

‘सडक बनाउने मात्रै होइन, सौन्दर्यीकरणका लागि पनि ध्यान दिइएको छ । हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट सडकबत्ति जडान गरिसकेका छौँ । बाँकी १५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाईट जडानका लागि सम्झौता भइसकेको छ । हामीले स्थानीयसँगको लागत साझेदारीमा सडक निर्माणको काम गरिरहेका छौँ । त्यसैले पनि यो सफलता मिलेको हो,’ अधिकारीले भने ।

तीन पटक म्याद थप्दा पनि सेती पुलको प्रगति २५ प्रतिशत मात्रै Read Previous

तीन पटक म्याद थप्दा पनि सेती पुलको प्रगति २५ प्रतिशत मात्रै

१५ बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मालपोत प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा Read Next

१५ बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मालपोत प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा