काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सामान्यतयाः मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको डेढ वर्षसम्म आफ्ना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । यसबीचमा पटक पटक मन्त्रिपरषद् हेरफेर भएको छ ।
हालै नियुक्त भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र वन राज्यमन्त्री हसिना खानबाहेक सबैले सम्पत्ति विवरण समेत बुझाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्ने उल्लेख छ । साथै, हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र विवरण बुझाउनुपर्ने व्यवस्था छ ।