काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु गरिएको छ ।
शुक्रबार १ हजार ४३० मिटर लामो लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु गरिएको हो । फास्ट ट्रयाक अन्तर्गत हाल ३ वटा सुरुङमार्ग निर्माणाधीन अवस्थामा छन् ।
यस्तै, आगामी असारभित्रै १ हजार ६३० मिटर लामो अनुसार धेद्रे सुरुङ पनि ब्रेक थ्रु गरिने नेपाली सेनाले जनाएको छ । उक्त सुरुङको हालसम्म १ हजार ५०६ मिटर खनिसकिएको छ भने अब १२४ मिटर खन्न बाँकी छ ।
त्यस्तै, फास्ट ट्रयाककै लामो महादेवटार सुरुङको अब १ हजार १९७ मिटर मात्र खन्न बाँकी छ । ३ हजार ३५५ मिटर लामो यस सुरुङको हालसम्म २ हजार १५८ मिटर खनिसकिएको छ ।
यी बाहेक फास्ट ट्रयकमा थप ३ सुरुङमार्ग निर्माण हुने छन् । २ हजार २५० मिटरको चन्द्राम भिर, १ हजार मिटरको देविचौर र ३९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा छन् ।
२०८३ चैतसम्म म्याद रहेको आयोजनाको हालसम्म भौतिक प्रगति ३३.९९ प्रतिशत रहेको छ ।