लघुवित्तको नाफा १९ गुणासम्म बढ्यो, यी हुन् दोब्बर बढीले नाफा बढाउने १४ लघुवित्त

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफामा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्र्रो त्रैमासमा गत वर्षको सोही अवधिको तुलनामा लघुवित्तहरूको नाफा औसतमा २.८१ प्रतिशतले बढेको हो

हाल संचालनमा रहेका ५५ लघुवित्तमध्ये हालसम्म ५३ लघुवित्तले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । ५३ लघुवित्तले चालु आवको चैत मसान्तसम्म कुल ३ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो गत वर्ष सोही अवधिको तुलनामा १० करोड २८ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म लघुवित्तले कुल ३ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा लघुवित्तहरूको खुद ब्याज आम्दानीमा झिनो वृद्धि भए पनि कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधाका कारण नाफामा वृद्धि भएको हो ।

राष्ट्र बैंकले चैत मसान्तसम्म तिर्न बाँकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज रकम तिरेर ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने सुविधा दिएको थियो । सोही अनुसार कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गरेकाले खराब कर्जा घट्न जाँदा नाफामा सुधार आएको हो । कर्जा पुनर्संरचना गर्दा लघुवित्तहरूको प्रोभिजन रकम घटेकाले नाफामा सकारात्मक प्रभाव परेको हो ।

साथै, पछिल्लो समय लघुवित्तहरूको कर्जा रिकभरीमा सुधार आउँदा र बैंकको ब्याजदर घट्दा समेत नाफा बढ्न सहयोग पुगेको हो ।

समीक्षा अवधिमा ५३ मध्ये ३३ लघुवित्तको नाफा बढेको छ भने २० वटाको घटेको छ । यस्तै, यही अवधिमा ३० लघुवित्तले खराब कर्जा घटाएका छन् ।

समीक्षा अवधिमा छिमेक लघुवित्तले सर्वाधिक ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, साना किसानले ५३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा १० लघुवित्तले मात्र १० करोड रुपैयाँ बढी नाफा कमाएका छन् ।

१४ लघुवित्तले दोब्बरभन्दा धेरैले बढाए नाफा

समीक्षा अवधिमा ३३ लघुवित्तको नाफा बढेको छ । तीमध्ये १४ लघुवित्तको नाफा दोब्बरभन्दा धेरैले बढेको छ ।

समीक्षा अवधिमा विजय लघुवित्तले सबैभन्दा धेरै झण्डै १९ गुणाले नाफा बढाएको छ । गत चैतमा १७ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको विजयको नाफा चालु वर्षमा १७८३.३६ प्रतिशतले बढेर ३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा मेरो माइक्रोफाइनान्सको ८४६.३० प्रतिशत, उपकार लघुवित्तको ३७८.२४ प्रशित, समता घरेलुको ३२१.४४ प्रतिशत, श्रृजनशीलको ३२०.२१ प्रतिशत, निर्धन उत्थानको २९९.४६ प्रतिशतले नाफा बढेको छ ।

त्यसैगरी, इन्फिनिटीको २८०.५७ प्रतिशत, सीवाइसी नेपालको २६३.४० प्रतिशत, किसान लघुवित्तको २५१.५९ प्रतिशत, नेरुडे मिर्मिरे २०१.७६ प्रतिशत, फरवार्डको १६७.१७ प्रतिशत, जनउत्थानको १६३.१२ प्रतिशत र महुली लघुवित्तको १३८.१४ प्रतिशतले नाफा बढेको छ ।

८ लघुवित्त घाटामा

समीक्षा अवधिमा ८ लघुवित्त कम्पनी भने घाटामा संचालनमा छ । गत वर्ष यही अवधिमा १२ लघुवित्त संस्थाहरू नोक्सानीमा थिए ।

चालु आवमा एनएमबी लघुवित्त सबैभन्दा धेरै ७ करोड ४९ लाख रुपैयाँ घाटामा छ । त्यसैगरी, धौलागिरि लघुवित्त ४ करोड ९३ लाख, सामुदायिक ४ करोड ५९ लाख, अभियान २ करोड २३ लाख, मनकामना स्मार्ट १ करोड १० लाख रुपैयाँ नोक्सानीम छन् ।

त्यस्तै, मानुषि लघुवित्त ७२ लाख, विन नेपाल ४७ लाख र समाज लघुवित्त २३ लाख रुपैयाँ घाटामा छन् ।

अब रारा जाने पर्यटकले कपडाको झोला बोक्नुपर्ने, प्लास्टिकजन्य वस्तु छोडे जरिवाना तिर्नुपर्ने Read Previous

अब रारा जाने पर्यटकले कपडाको झोला बोक्नुपर्ने, प्लास्टिकजन्य वस्तु छोडे जरिवाना तिर्नुपर्ने

सवारी कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्‍यो Read Next

सवारी कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्‍यो