काठमाडौं । आज लघुवित्त कम्पनीहरूको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । चालु वर्षको तेस्रो त्रैमासमा अधिकांश लघुवित्तको वित्तीय विवरणमा सुधार आउँदा लगानीकर्ता यस क्षेत्रका कम्पनीको सेयरमा आकर्षित हुन थालेका हुन् ।
तेस्रो त्रैमासमा लघुवित्तहरूको नाफा बढेको छ भने खराब कर्जा घटेको छ । त्यस्तै, सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा लघुवित्तको ऋण पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । यसले आगामी दिनमा लघुवित्तको खराब कर्जा झनै घट्ने लाभांश क्षमता बढ्ने अपेक्षा लगानीकर्ताहरूले धमाधम सेयर किन्न थालेका हुन् ।
बिहीबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा पुगेको छ । सूचकमा झिनो वृद्धि भए पनि कारोबार रकम भने ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५३ करोडले बढेर ४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
यसदिन ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूह मध्ये लघुवित्त र अन्य समूह बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स १.४५ प्रतिशतले घटेको छ ।
आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४३ करोड ९० लाख रुपैयाँ बढीको ५ लाख ६८ हजार १२ कित्ता सेयर किनबेच भएको छ ।
आज १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको घटेको छ । बढ्दो बजारमा आज ४ लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
हिमालयन, जाल्पा सामुदायिक, श्रृजनशील र स्वाभिमान लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज माण्डू हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक ५.७६ प्रतिशत गुमाएका छन् ।