काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका १ दर्जन बढी ठाउँका बिजुलीका पोलहरू हटाउन निर्देशन दिएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै भूमिगत विद्युत् वितरण प्रणाली निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू ६ महिना भित्र हटाइसक्न निर्देशन दिएको हो ।
प्राधिकरणका अनुसार हालसम्म काठमाडौंका पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेको छ । ती स्थानमा हाल भूमिगत वितरण प्रणाली परीक्षण गरी चाँडै संचालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।
भूमिगत प्रणालीबाट विद्युत् वितरण गरेपछि बिजुलीका पोलहरू राख्न आवश्यक नरहेको भन्दै प्राधिकरणले हटाउन निर्देशन दिएको हो ।
प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न सरोकारवालालाई आग्रह समेत गरेको छ ।
