दमौली-जामुने सडकको वैकल्पिक सडक कालोपत्र गरिँदै

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९.४५२ किलोमिटर मार्गमा पक्की नालासहित विस्तार कार्य भइरहेको हो ।

उक्त मार्गले व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वीराजमार्गसँग जोडिने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कुल १ हजार ९५० मिटर ढलान सडकमध्ये १ हजार ६०० मिटर सम्पन्न भइसकेको छ । चालु वर्षमा सडक ढलान कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी एमएस गुल्मेश्वर/पाण्डे एण्ड कम्पनी/नयाँयुग जेभीका इन्जिनियर मिलन जिसीले जानकारी दिए ।

उनका अनुसार उक्त मार्गमा निर्माण गरिने साढे ९ किलोमिटर नालामध्ये अब ८०० मिटरमात्रै बाँकी छ । ‘करिब आठ किलोमिटर मार्गमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ । उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति हासिल भइसकेको छ’ उनले भने ।

उक्त मार्गमा दैनिक ६५ जना जनशक्ति परिचालन गरी निर्माणलाई तीव्रता दिइएको इन्जिनियर जिसीले बताए । भ्याटसहित रु ३४ करोड ५८ लाख ५० हजार २८५ मा ठेक्का सम्झौता गरी निर्माण कम्पनीले काम अघि बढाएको हो ।

विसं २०८० जेठ ९ मा सम्झौता गरी उक्त निर्माण कम्पनीले विसं २०८२ फागुन ९ गते सम्पन्न गर्ने लक्ष्य लिएको छ । निर्माणले गति लिएको हेर्दा सम्झौताअगावै सम्पन्न हुने सम्भवना देखिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिए ।

उनका अनुसार कुल सडकमार्गमध्ये सवग्रेड र सवबेसको ७०० मिटर काम बाँकी रहेको छ भने नाला र स्टक्चरको काम सम्पन्न गरिसकिएको छ । उक्त मार्गमा गरिएको ढलानको चौडाइ २० सेन्टिमिटर र कालोपत्र चार सेन्टिमिटरको हुनेछ ।

गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटमा निर्माणकार्य थालिएको र हालसम्म कार्यप्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताए ।

तराईको गर्मीमा पनि लटरम्म स्याउ Read Previous

तराईको गर्मीमा पनि लटरम्म स्याउ

काठमाडौंका १ दर्जन ठाउँका बिजुलीको पोल हटाइँदै, अब भूमिगत प्रणालीबाट विद्युत् आपूर्ति Read Next

काठमाडौंका १ दर्जन ठाउँका बिजुलीको पोल हटाइँदै, अब भूमिगत प्रणालीबाट विद्युत् आपूर्ति