निःशुल्क सिपमूलक तालिम लिन महानगरमा ६९ हजारले दिए आवेदन

काठमाडौँ । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा हालसम्म ६८ हजार ८६६ जनाको आवेदन प्राप्त भएको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन् ।

२०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आह्वान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन् ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य छ ।

‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ,’ आवेदकहरुको संख्याका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ । यसपछि सिप मेलाको तालिममा सहभागी गराउन आवेदन दिनुभएका तर त्यहाँ समावेश गर्न नसकिएका आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउँछौँ । यो तालिम पनि निःशुल्क हो । यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन् ।’

झाका अनुसार हरेक वडाबाट १०० जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आएका सहभागीहरूको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।

महानगरका अनुसार जुत्ता बनाउने, डकर्मी, मालीलगायत तालिमका लागि गरिएको आह्वानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिएका छन् । त्यस्तै, ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् ।

यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आह्वान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए ।

प्रभु बैंकका ग्राहकले काठमाण्डू मोडेल अस्पतालमा विशेष छुट पाउने Read Previous

प्रभु बैंकका ग्राहकले काठमाण्डू मोडेल अस्पतालमा विशेष छुट पाउने

सरकार नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रबर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री Read Next

सरकार नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रबर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री