रोमानिया जानेलाई नेपालमै भिसा उपलब्ध गराउन आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ । भेटमा रोमानिया र नेपालबीच श्रम लगायत आपसी हितका विषयमा छलफल भएको थियो ।

श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रम सम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरे ।

त्यस्तै, श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गर्दै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न आग्रह गरे ।

राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्राउन चाहेको बताइन् । साथै रोमानिया नर्सिङ, निर्माण, हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीहरुको अत्याधिक माग रहेको कुरा समेत उनले बताइन् ।

राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरी देखि हालसम्म नेपाली युवाको लागि ७ हजार ८०० भिसा जारी गरेको छ । गत वर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् । आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन् ।

नेपाल र रोमानिया सरकार बीच सन् १९६८ को अप्रिल २० मा कुटनीति सम्बन्ध स्थापित भएको हो । नेपाल र रोमानिया सरकार बिच सन् २०२३ को अक्टोबर ६ मा श्रम सम्बन्धी समझदारी भएको हो । रोमानियामा करिब १० हजार नेपाली श्रमिक छन् ।

 

हरित रोजगारीका निम्ति कोरियाले सवा १ अर्ब दिने Read Previous

हरित रोजगारीका निम्ति कोरियाले सवा १ अर्ब दिने

वैशाखमा पौने ५० हजार घरजग्गा  किनबेच, राजस्व भने घट्यो Read Next

वैशाखमा पौने ५० हजार घरजग्गा किनबेच, राजस्व भने घट्यो