काठमाडौं । वैशाख महिनामा घरजग्गा कारोबारमा झिनो सुधार आएको छ । चैतको तुलनामा वैशाखमा घरजग्गा किनबेच (लिखत पारित) १७१ वटाले बढेको हो ।
भूमि व्यवस्थापन विभागका अनुसार वैशाखमा देशभरका मालपोत कार्यालयहरूबाट कुल ४९ हजार ७८३ वटा घरजग्गा किनबेच भएको हो । यो चालु वर्षको तेस्रो धेरै हो । यसअघि फागुनमा यस आवकै धेरै ५० हजार ९९८ र माघमा ५० हजार ९२१ वटा घरजग्गा किनबेच भएको थियो ।
सरकारले घरजग्गा कारोबार बढाउन नीतिगत सुधार गरे पनि अपेक्षित रुपमा भने बढ्न नसकेको हो । पछिल्ला ४ महिना यता घरजग्गा करोबार खासै बढ्न सकेको छैन । स्थिर प्राय देखिन्छ ।
यद्यपि गत वर्षको तुलनामा भने घरजग्गा कारोबारमा सुधार देखिएको छ । विगत डेढ वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार चालु आवको माघ यता भने लयमा आउन थालेको देखिन्छ । पछिल्लो ४ महिना यता लगातार मासिक साढे ४९ हजार बढी घरजग्गा किनबेच भएका छन् । चालु आवको पुससम्म औसतमा मासिक ४० हजार हाराहारीमा घरजग्गाको लिखत पारित हुँदै आएकोमा माघ यता औसतमा ५० हजार पुगेको हो ।
चालु आवको १० महिनामा कुल ४ लाख ३९ हजार २३० वटा घरजग्गा किनबेच भएका छन् । चालु आवको साउनमा ४९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१, पुसमा ४५ हजार २७७ वटा, माघमा ५० हजार ९२१, फागुनमा ५० हजार ९९८ वटा र चैतमा ४९ हजार ६१२ घरजग्गाको लिखत पारित भएको थियो ।
सरकारी नीतिगत सहजता, घरजग्गा कर्जा लगानीमा लचकता, बैंकिङ प्रणालीमा अधिक तरलता, घट्दो ब्याजदर, अर्थतन्त्रमा क्रमशः देखिन थालेको सुधार लगायत कारणले माघ यता घरजग्गा कारोबारमा सुधार आएको हो ।
घरजग्गा व्यवसाय चलायमान बनाउन सरकार र नेपाल राष्ट्र बैंकले एकपछि अर्को नीचिगत लचकता अपनाएका छन् । सरकारले गत साउन अन्तिममा भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कर्जा लगानीमा लगाएको अंकुश हटाउँदै लगेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, पहिलो त्रैमासिम समीक्षा मार्फत रिय ई-स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।
त्यस्तै, राष्ट्र बैंकले गत असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।
त्यसैगरी, काठमाडौं उपत्यका भित्र रियल ई–स्टेट कर्जाको धितो संरक्षणमा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/रियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सहजै कर्जा पाइने अवस्था छ भने ब्याजदर समेत घट्दो क्रममा छ । अहिले बैंकहरूको औसत बेसरेट एकल अंकमा झरिसकेको छ । बैंकहरूले एकल अंकको ब्याजदरमै घरकर्जाका स्कीम ल्याउन थालेका छन् । पछिल्ला महिनाहरूमा क्रमशः आर्थिक गतिविधिहरू चलायमान हुन थालेकाले पनि गत वर्षको तुलनामा कारोबार बढ्न थालेको हो । यद्यपि, अपेक्षित रुपमा भने बढ्न सकेको छैन ।
वैशाखमा राजस्व भने घट्यो
चैतको तुलनामा वैशाखमा घरजग्गा कारोबारमा झिनो सुधार देखिए पनि राजस्वमा भने गिरावट आएको छ । विभागको अनुसार वैशाखमा देशभरका मालपोत कार्यालयहरूबाट कुल ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजस्व संलकलन भएको छ ।
यो चैतको तुलनामा ६ करोड ७० लाख रुपैयाँ कम हो । चैतमा घरजग्गा कारोबार बापत चालु वर्षकै सबैभन्दा धेरै ४ अर्ब ३१ करोड २३ रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आवको १० महिनामा घरजग्गा कारोबारबाट कुल ३४ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा चलु आवमा घरजग्गाको राजस्व साढे ४ अर्बले बढेको हो । गत वर्ष वैशखसम्म ३० अर्ब राजस्व संकलन भएको थियो ।
घरजग्गा कारोबार बापत चालु आवको साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब ६ करोड, असोजमा ४ अर्ब ४३ करोड ५४ लाख, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, मंसिरमा २ अर्ब ८६ करोड, पुसमा ३ अर्ब २० करोड, माघमा ३ अर्ब ७१ करोड र फागुनमा ३ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
यी ठाउँमा भयो धेरै किनबेच
वैशाख महिनामा पनि विगतमा जस्तै तराईका जिल्लाहरूमा धेरै घरजग्गा किनबेच भएको छ । यस महिना मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धरै २ हजार ८२ वटा लिखत पारित भएको छ।
त्यस्तै, मालपोत कार्यालय जनकपुरबाट १ हजार ७६७ र भद्रपुरबाट १ हजार ७२८ वटा घरजग्गको लिखत पारित भएके छ । मालपोत कार्यालयहरू मोरङ, राजविराज, मलंगवा, सिराहाबाट पनि १ हजार बढी लिखत पारित भएके छ ।
काठमाडौं उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सबैभन्दा धेरै ९८४ घरजग्गा किनबेच भएको छ । त्यसैगरी, मालपोत कार्यालय लगनखेलबाट ९५५, कलंकीबाट ६७९, चाबहिल र साँखुबाट समान ४८३, डिल्लीबजारबाट २०४ र टोखाबाट १३८ वटा लिखत पारित भएको छ ।