काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटलहरूको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । होटलहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ४२.५ प्रतिशतले बढेको हो ।
होटल तथा पर्यटन समूहमा सूचीकृत ६ वटा कम्पनीले चैत मसान्तसम्म कुल ७९ करोड ५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २३ करोड ५७ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म यी होटलले कुल ५५ करोड ४७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
समीक्षा अवधिका होटलहरूको आम्दानी बढ्दा खुद नाफामा उछाल आएको हो । पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दा होटलहरूको आम्दानी उल्लेख्य रुपमा बढेको हो ।
चालु आवमा विदेशी पर्यटक आवगमन बढ्नुका साथै आन्तरिक पर्यटकीय गतिविधमा पनि उल्लेख्य सुधार आएको छ । जसकारण होटलहरूको आम्दानी बढ्न गई नाफामा समेत उछाल आएको हो ।
सन् २०२३ मा मात्रै १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने २०२४ को ४ महिनामा सवा ४ लाख बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै, आन्तरिक पर्यटकीय गतिविधि पनि बढेको छ । यसले पनि होटलको व्यवसाय बढाउन सहयोग पुर्याइरहेको छ ।
कोभिड अवधिमा पर्यटन व्यवसाय र भौतिक कार्यक्रम ठप्प हुँदा होटलको व्यवसाय पनि धरासाय भएको थियो । कतिपय ठूला होटलहरू खर्च धान्न नसकेर बन्द समेत भएका थिए । तर, गत वर्षदेखि पर्यटन क्षेत्र लयमा फर्किँदा होटल व्यवसाय फस्टाएको हो । होटल व्यवसायीहरूका अनुसार अहिले आन्तरिक कार्यक्रम तथा संस्थागत गतिविधिले अकुपेन्सी राम्रै छ ।
आर्थिक संकुचनका कारण बैंक तथा वित्तीय संस्था, उत्पादनमूलक उद्योगहरू नराम्ररी प्रभावित हुँदा पनि होटल व्यवसाय भने गुल्जार बनेको छ ।
कुन होटलले कति कमाए ?
समीक्षा अवधिमा सबै होटलको व्यवसाय बढेको छ । समीक्षा अवधिमा सूचीकृत ६ वटामध्ये ५ वटा होटल नाफामा छन् भने सिटी होटल घाटामा छ ।
चैतसम्म सोल्टी होटलले सबैभन्दा धेरै ४१ करोड २३ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा सोल्टीले खुद नाफा ११.०८ प्रतिशतले बढाएको हो ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष २८ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको तारागाउँले यस वर्ष खुद नाफा ३९.५४ प्रतिशतले बढेको हो ।
चैतसम्म चन्द्रागिरि हिल्सले १० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा चन्द्रागिरिले खुद नाफा ३८.८२ प्रतिशतले बढाएको छ ।
त्यस्तै, ओरेन्टल होटले ६ करोड ५९ लाख र कालिञ्चोक दर्शनले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
समीक्षा अवधिमा सिटी होटल भने १५ करोड ३७ लाख रुपैयाँ घाटामा छ । यद्यपि, गत वर्षको तुलनामा यसको नोक्सानी घटेको छ । गत वर्ष चैतसम्म सिटी २१ करोड ६१ लाख रुपैयाँ नोक्सानीमा थियो ।