निर्जीवन बीमा कम्पनीको नाफा ५५% बढ्यो, शिखरलाई ८ वटाले उछिने, कुनले कति कमाए ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ५५.०६ प्रतिशतले बढेको छ ।

चालु आवको चैत मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल ५ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ६७ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म निर्जीवन बीमा कम्पनीले कुल ३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

अर्थतन्त्रमा आएको संकुचनका कारण बैंक तथा वित्तीय संस्थाहरूको नाफा प्रभावित भए पनि बीमा कम्पनीहरूको भने उल्लेख्य रुपमा बढेको हो ।

समीक्षा अवधिमा बीमा कम्पनीहरूको खुद बीमा शुल्क संकलन र कर्जा तथा लगानी आयबाट हुने आम्दानी बढ्दा समग्रमा नाफा बढ्न पुगेको हो । साथै, गत वर्ष निक्षेपको ब्याजदर बढेकाले बीमा कम्पनीहरूको नाफामा उच्च वृद्धि भएको हो ।

गत वर्ष तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुर्याएका थिए । बीमा कम्पनीले प्रिमियमको ठूलो रकम निक्षेपमा राख्ने भएकाले ब्याजदर बढ्दा उनीहरूलाई फाइदा पुगेको हो ।

समीक्षा अवधिमा बीमा कम्पनीहरूको खुद बीमा शुल्क ३० प्रतिशतले बढेर पौने १० अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा तथा लगानी आयबाट प्राप्त हुने आम्दानी ४५ प्रतिशत बढेर पौने ५ अर्ब रुपैयाँ पुगेको छ ।

१२ कम्पनीको नाफा बढ्यो, २ वटाको मात्रै घट्यो

समीक्षा अवधिमा १४ मध्ये १२ निर्जीवन बीमा कम्पनीको नाफा बढेको छ भने दुई वटाको मात्र घटेको छ । गत वर्षको तुलनामा राष्ट्रिय बीमा कम्पनीको नाफा २४.७८ प्रतिशत र नेको इन्स्योरेन्सको १.६९ प्रतिशतले घटेको हो ।

यस अवधिमा ५ कम्पनीको नाफा दोब्बरभन्दा धेरैले बढेको छ । जसका प्रभु इन्स्योरेन्सको सबैभन्दा धेरै २३७.१८ प्रतिशतले बढेको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल १८१.०४ प्रतिशत, हिमालयन एभरेष्ट १६२.८६ प्रतिशत, सिद्धार्थ प्रिमियर १०९.६६ प्रतिशत र नेपाल इन्स्यारेन्सको नाफा १०१.१३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा गत वर्ष मर्ज भएका अधिकांश कम्पनीको नाफा बढेको छ । बैंकहरूमा मर्जरको सिनर्जी नदेखिए पनि बीमा कम्पनीमा भने सिनर्जी देखिएको छ ।

धेरै कमाउने नेपाल, शिखरलाई ८ कम्पनीले उछिने

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्स सबैभन्दा धेरै नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ । चालु वर्षको चैतसम्म नेपालले सर्वाधिक ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, दोस्रो धेरै नाफा कमाउने हिमालयन एभरेष्ट रहेको छ । गत वर्षको तुलनामा साढे दुई गुणाले नाफा बढाएको यस कम्पनीले चैतसम्म ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, सिद्धार्थ प्रिमियम ५९ करोड ७१ लाख, राष्ट्रिय बीमा कम्पनी ५१ करोड ६३ लाख, सगरमाथा लुम्बिनी ४७ करोड ५४ लाख, आइजीआई पु्रडेन्सियल ४६ करोड ७६ लाख, ओरेन्टल ४६ लाख १६ हजार र प्रभुले ३९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

विगतमा सबैभन्दा धेरै नाफा कमाउँदै आएको शिखर इन्स्योरेन्स यस वर्ष नाफामा निकै पछि परेको छ । समीक्षा अवधिमा शिखरलाई नाफामा ८ कम्पनीले उछिनेका छन् । यस अवधिमा व्यवसायमा शिखर नै अग्र स्थानमा रहे पनि नाफामा भने निकै पछि परेको हो । चैतसम्म शिखरले ३९ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले ३७ करोड ७४ लाख, युनाइटेड अजोडले २७ करोड ४२ लाख, सानिमा जीआइसी २० करोड र नेशनलले १४ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।

चैतसम्म एनएलजी इन्स्यारेन्सले सबैभन्दा कम १३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ ।

'सास्तीमार्ग' बन्दै मुग्लिन-पोखरा सडक, मोटरसाइकल चलाउनै मुस्किल Read Previous

'सास्तीमार्ग' बन्दै मुग्लिन-पोखरा सडक, मोटरसाइकल चलाउनै मुस्किल

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट