नारायणी नदीमा ४२० मिटर लामो सिग्नेचर पुल बन्दै, प्रधानमन्त्रीले शिलान्यास गर्दै

चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुल शिलान्यास गर्न लागेका हुन् ।

भरतपुर महानगरपालिकातर्फ पुलको शिलान्यास गरिन लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं यस पुलको योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल ४२० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने यस पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी बनाइएको छ । उनले भने, ‘पुलको बीचमा दुई पिल्लरबीचको भाग २१० मिटर फराकिलो छ । यहाँबाट जहाज आवतजावत गर्न सक्छन् ।’

पुलको दुई ठाउँमा टावर राखिएका छन् । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा ७.५ मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनले जानकारी दिए।

सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । मूल्यअभिवृद्धि करसहित रु १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ मा ठेक्का सम्झौता भएको हो ।  पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिए । डिजाइनको काम करिब सम्पन्न भएको छ ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रले तोकिएको समयमा गुणस्तरीय काम गर्न आफूहरु प्रतिबद्ध भएर सोहीअनुसार तयारी गरिएको बताए । उनले भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाले आवश्यक सहजीकरण गरेका कारण कामलाई गति दिन सहज हुँदै आएको बताए।

हाल भएको नारायणीको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको हालको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सिटी होटल १५ करोड घाटामा Read Previous

सिटी होटल १५ करोड घाटामा

घोराही सिमेन्ट ६४ करोड घाटामा, रिटेन्ड अर्निङमा भने पौने ३ अर्ब संचित Read Next

घोराही सिमेन्ट ६४ करोड घाटामा, रिटेन्ड अर्निङमा भने पौने ३ अर्ब संचित