पर्यटक बढ्दा सोल्टी होटलको आम्दानी १ अर्ब ६८ करोड, नाफा पनि बढ्यो

काठमाडौं । सोल्टी होटल लिमिटेडको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ११.०८ प्रतिशतले बढेको छ ।

चालु आवको चैत मसान्तसम्म कम्पनीले ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४ करोड १२ लाख रुपैयाँ धेरै हो । गत वर्ष सोही अवधिमा सोल्टीले ३७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पछिल्लो समय पर्यटकीय गतिविधिमा सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११.३८ प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । सेवा सुविधा र ब्राण्डका कारण सोल्टी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

नेपाल भ्रमणमा आउने अधिकांश विदेशी राष्ट्रका प्रमुखदेखि अन्य उच्च ओहोदाका व्यक्तिहरु सोल्टीमै बस्ने गरेका छन् । सोल्टी होटलमा सरकारी तथा निजी क्षेत्रका कार्यक्रमहरु आयोजना गर्ने क्रम पनि बढ्दो छ । जसकारण होटलको आम्दानी बढेको हो ।

यस्तै, कम्पनीको संचालन नाफा ११.३८ प्रतिशतले बढेर ५१ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

हाल ९२ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ तथा जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा सोल्टीको प्रतिसेयर आम्दानी २४ पैसा बढेर ४.४४ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ छ ।

आजदेखि बजेट अधिवेशन सुरू हुँदै Read Previous

आजदेखि बजेट अधिवेशन सुरू हुँदै

युनिलिभरको नाफा ३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २२०२ रुपैयाँ Read Next

युनिलिभरको नाफा ३० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २२०२ रुपैयाँ