काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३३ लाख कित्ता डिबेन्चर बिक्री गर्ने भएको हो । बैंकले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।
यस सम्बन्धमा दुई कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरे ।
वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । बैंकले निष्काशन गर्ने कुल ऋणपत्र मध्ये १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी १२ लाख कित्तासर्वसाधारण नेपालीको लागि निष्काशन गर्नेछ ।
सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ ।