काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । मंगलबार २ अंकले बढेको नेप्से आज १ अंकभन्दा कमले घटेको हो ।
बुधबार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा आइपुगेको छ । सूचकमा झिनो गिरावट आए पनि कारोबार रकम भने बढेकोे छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोड बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
यसदिन ३०५ कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ समूहको घटेको छ । फाइनान्स र माइक्रोफाइनान्स कम्पनीको सेयरमा आकर्षण देखिएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशतले बढेको छ ।
आज फर्स्ट माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ६० लाख रुपैयाँ बढीको १ लाख ५८ हजार ४९७ कित्ता सेयर किनबेच भएको छ ।
आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ । आज इन्फिनिटी लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ ।