काठमाडौं । अधिकांश पूर्वाधार आयोजना निर्माण वर्षौंसम्म सम्पन्न हुन नसकिरहेका बेला राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन आयोजनाले भने सबैलाई चकित बनाएको छ ।
तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरू गरिएको यो आयोजनाको सुरुङ निर्धारित समयभन्दा ५ महिना अगावै ब्रेक थ्रु भएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहका बीच स्वीच थिचेर सुरुङको ब्रेक थ्रु गरिएको हो । २०७९ असोज २८ गतेदेखि निर्माण सुरू गरिएको कुल १३.३ किलोमिटर लामो यो सुरुङ आगामी असोजसम्म खनिसक्नुपर्ने थियो । २ वर्षमा सक्नुपर्ने सुरुङ निर्माण १९ महिनामै खनिसकिएको हो ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका २ कुमुमटारबाट टनेल बोरिङ मेशिन (टीबीएम) ले सुरुङ खन्न थालेको थियो । आज टीबीएम सुनकोशी नदी किनारमा निस्केको छ ।
सुरुङको ब्रेक थ्रु भए पनि संचालनमा आउन भने अझै डेढ वर्ष लाग्ने भएको छ । आयोजनाका प्रमुख बरालका अनुसार कुल १३.३ किलोमिटर लामो सुरुङ छिचोलिए पनि त्यसलाई पानी बहाउन मिल्ने बनाउन अझै एकदेखि डेढ वर्ष समय लाग्नेछ ।
आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार हुनसकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन त्यसको खास कारण बनेको भन्दै आलोचनासमेत हुने गरेको छ । हाल आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ ।
निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति हुननसक्दा भेरी–बबईको परिणती दोहोरिने त होइन भन्ने चिन्ता यहाँ पनि छ । अहिले आयोजनाको अर्को महत्वपूर्ण विद्युत् गृह र प्रसारणलाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारणलाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजनाले जनाएको छ ।
सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । यस्तै, सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।
मेसिनको प्रयोग र निरन्तरको चासोले समय अगावै सम्पन्न
आयोजना समयमै सम्पन्न हुनुमा सरोकारवालाको निरन्तरको चासो र प्रविधिको प्रयोग रहेको छ । नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टीबीएम प्रयोग गरेर खनिएको हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढीभएको नेपालमा सुरुङ खन्न अब टीबीएम प्रभावकारी उपकरणका रूपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दैगएको देखिन्छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न स्पष्ट निर्देशन दिएका कारण सुरुङ निर्माणमा उल्लेख्य सफलता हासिल भएको हो ।
उनले निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरणगरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउनसमेत निर्देशन दिएका थिए ।
यस्तै, हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्री बस्नेतले दिएको निर्देशनअनुसार आयोजनाको प्रगति प्रभावकारीरूपमा अगाडि बढेको हो । प्रधानमन्त्री दाहालले नियमितरूपमा आयोजनाबारे चासो राख्दै आएका थिए ।
सुरुङ खन्दैजाँदा चुरे र महाभारत पर्वत श्रृङ्खलाका बीचमा समस्या देखिँदा केही दिन प्रभावित भएको काम त्यसको समाधानसँगै नियमितरूपमा अगाडि बढेको आयोजना प्रमुख बरालको भनाइ छ ।
समयमै काम सम्पन्न गर्न प्रधानमन्त्री दाहालले आज पनि सम्बद्ध पक्षको बैठक राखेर अन्य कामलाई गतिदिन निर्देशन दिएका छन् । ।सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।
यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहजभएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।
यसअघि सुरुङ निर्माणमा भौगर्भिकरूपमा रहेको जटिलताका कारण तीन पटक समस्या देखिएको थियो । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरेको हो । बाँध निर्माण भने नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । आगामी विसं २०८४ को असोजमा सो आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामोसमय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ । सो आयोजना सम्पन्न भएपछि अन्नभण्डारका रूपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक बदलाव आउने सरकारको विश्वास छ ।
आर्थिक वर्ष २०६८/६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेसिन प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको संज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनासम्बद्ध अधिकारी नै विश्वस्त थिएनन् । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शंका गर्ने पनि उत्तिकै थिए । संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै मेहेनत गर्नुपरेको सम्बद्ध अधिकारीको भनाइ छ । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखिएपछि सुनकोशी मरिणमा पनि टिबीएमको प्रयोग गरिएको हो ।
‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टीबीएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । भेरी-बबईमा डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टीबीएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ । दुधकोशी अर्धजलाशयुक्त आयोजनाको सुरुङमा समेत टीबीएमको प्रयोग गर्नेबारेमा प्रारम्भिक छलफल भएको छ ।