धेरै नियम उल्लंघन गर्नेमा वाणिज्य बैंक अगाडि, २२ संस्था कारबाहीमा

काठमाडौं । ऐन, निर्देशन, नीति, नियम उल्लंघन गर्नेमा वाणिज्य बैंकहरू अगाडि रहेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा गरेको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा नियम पालना नगर्नेमा वाणिज्य बैंकहरू अघि रहेको पाइएको हो ।

चालु आवको ९ महिना (साउन-चैत)मा राष्ट्र बैंकले २२ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । कुनै बैंक एकपटक र कुनै पटकपटक कारबाहीमा परेका हुन् । तीमध्ये ११ वटा वाणिज्य बैंक रहेका छन् । राष्ट्र बैंकको नियम नमानेर कारबाहीमा पर्नेमा ५० प्रतिशत वाणिज्य बैंक रहेका हुन् ।

यस अवधिमा ७ विकास बैंक र ४ फाइनान्स पनि कारबाहीमा परेका छन् । समग्र वित्तीय प्रणालीको लिडरका रुपमा रहेका वाणिज्य बैंकहरू नियम पालनामा भने कमजोर पाइएको हो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार चालु वर्षको तेस्रो त्रैमासमा ६ वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका छन् । तीमध्ये ४ वटा वाणिज्य बैंक रहेका छन् । तेस्रो त्रैमासमा प्राइम कमर्शियल, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

त्यस्तै, दोस्रो त्रैमासमा १२ वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका थिए । जसमा ३ वाणिज्य बैंक, ४ विकास बैंक र ४ फाइनान्स कम्पनी रहेका छन् ।

राष्ट्र बैंकका अनुसार दोस्रो त्रैमासमा कारबाहीमा पर्नेहरूमा ग्लोबल आइएमई, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स, रिलायन्स र प्रोग्रेसिभ फाइनान्स रहेका छन् ।

त्यसैगरी, पहिलोे त्रैमासमा ११ बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका थिए । जसमा ६ वाणिज्य बैंक, ४ विकास बैंक र एउटा फाइनान्स कम्पनी रहेका छन् । पहिलो त्रैमासमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, एनआइसी एशिया, नबिल, सिटिजन्स बैंक इन्टरनेशनल, एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको थियो ।

कारबाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले नगद जरिवानासहित संचालक र सीईओलाई सचेत गराएको छ ।

कुनले के गल्ती गरे ?

राष्ट्र बैंकले यस वर्ष हिमालयन बैंकलाई दुईपटक कारबाही गरेको छ । पहिलो त्रैमासमा कर्जा निक्षेप अनुपात कम नगरेको र दोस्रो त्रैमासमा पूँजी पर्याप्तता अनुपात गणना गर्दा निर्देशन पालना नगरेको भन्दै कारबाही गरेको हो । पहिलो त्रैमासमा हिमालयनलाई १ करोड ६७ लाख रुपैयाँ नगद जरिवाना समेत गरेको थियो ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले पनि दुई पटक नियम उल्लंघन गरेको छ । पहिलो त्रैमासमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन निर्देशनको उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले ७० लाख रुपैयाँ जरिवाना गरेको थियो । त्यस्तै, तेस्रो त्रैमासमा बैंकबाट प्रवाह भएको कर्जा बैंकका शेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकाले कारबाही गरेको थियो ।

त्यस्तै, एनएमबी बैंकले सहुलियतपूर्ण कर्जामा घोटाला गरेको पाइएको भन्दै सीईओलाई सचेत गराएको छ । त्यसैगरी, एनआइसी एशिया बैंकले ग्राहकसँग बढी ब्याज लिएको भन्दै राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई सचेत गराएको छ ।

नबिल बैंकलेले नियमविपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको कोर बैंकिङ सिस्टममा राखी कर्जामा एडिसनल रिक्स प्रिमियमस्वरुप अतिरिक्त १.५ प्रतिशत असुल गरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिमभारित सम्पति गणना नभएको, ऋणी ग्राहकहरूसँग त्रैमासिक रुपमा ऋणको प्रशासनिक शुल्क लिने गरेको तथा संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरूलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएकोभन्दै बैंक्का सीईओ ज्ञानेन्द्र ढुंगानालाई कारबाही गरेको छ ।

सिटिजन्स बैंकले निर्देशनबमोजिम कर्जासापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था नगरेको पाइएकाले सीईओ गणेश पोखरेललाई राष्ट्र बैंकले सचेत गराएको छ ।

ग्लोबल आईएमई बैंकले व्यवस्थाविपरीत प्रिमियमदर बढाएर ग्राहकहरूबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न दिइएकोले सीईओ रत्नराज बज्राचार्यलाई नसिहत दिइएको छ ।

त्यस्तै, प्रभु बैंकले पनि कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था नगरेको, प्रिमियमदर वृद्घि गरी व्याज असुलउपर गरेको भन्दै सीइओ अशोक शेरचनलाई सचेत गराएको छ ।

त्यसैगरी, कुमारी बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था पालना नगरेको, हुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ विपरीत ब्याज अनुदान दिएकाले सञ्चालक समिति र सीईओलाई सचेत गराइएको छ ।

त्यस्तै, प्राइम कमर्सियलले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था पालना नगरेको, जोखिमभारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको राष्ट्र बैंकले प्राइमका सीईओलाई सचेत गराएको छ ।

त्यसैगरी, इन्भेष्टमेन्ट मेगाले कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र कालिमाटी शाखाले कन्फर्म गरी सो प्रतीतपत्र अन्तर्गत भएको कारोबारमा निवेदक कम्पनीबाट प्रोमीसरी नोट जारी गरी ४१.६३ करोड कर्जा बराबरको बिल पर्चेज गरेको, प्रतीतपत्रको म्याद थप गरी इभरग्रीन गरी असल कर्जामा देखाइ पूँजीकोष गणना गरेको भन्दै कारबाही गरेको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकले ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।एक्सल डेभलपमेन्ट बैंकले एकीकृत निर्देशन परिपालना नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले संस्थाबाट व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएकोले सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्षलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले अनिवार्य नगद तरलता अनुपात र कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले २ लाख ४१ हजार ९२४ रुपैयाँ हर्जना तिराएको छ ।

त्यस्तै, गरिमा विकास बैंकलाई सुशासनको विषयमा र रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरूको संयुक्त खाता र व्यक्तिगत खातामा व्यावसायिक कारोबारहरू भएको लगायतका कमजोरी पाइएकाले सचेत गराएको छ ।

त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरूको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको सावाँ ब्याज चुक्ता हुने आधारलगायतका विवरणहरूको विश्लेषण नगरेको र कर्जाको सदुपयोग भएको पनि नपाइएको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिलाई सचेत गराएको छ ।

रिलायन्स फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई निक्षेपकर्ताको हितविपरीत कार्य गरेको भन्दै राष्ट्र बैंकले नसिहत दिएको छ ।

शुक्रबारसम्म काठमाडौंका यी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने Read Previous

शुक्रबारसम्म काठमाडौंका यी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा फेरि लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा फेरि लाभांश घोषणा, बोनस र नगद कति ?