भारतमा चुनावी मुद्दा बन्यो प्याज, हटायो निर्यात प्रतिबन्ध

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । भारतले प्रतिबन्ध लगाएको ६ महिनापछि न्यूनतम मूल्य तोकेर प्याज निर्यात खुला गरेको हो ।

भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै प्याजको न्यूनतम निर्यात मूल्य तोकेर प्रतिबन्ध हटाइएको जानकारी गराएको छ । महानिर्देशनालयले प्याजको न्यूनतम निर्यात मूल्य प्रतिटन ५५० अमेरिकी डलर तोकेको हो ।

भारतले पहिलो चरणमा डिसेम्बर २०२३ देखि २०२४ मार्च ३१ सम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि प्रतिबन्धलाई निरन्तरता दिँदै अनिश्चितकालका लागि लम्ब्याएको थियो । यस्तै, भारतले गत अगस्टदेखि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको थियो ।

आन्तरिक बजारमा मूल्य वृद्धि नियन्त्रण गर्ने भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । सो नेपालसहित छिमेकी देशमा प्याजको भाउ अस्वभाविक महँगिएको थियो ।

किसानहरूलाई राम्रो मूल्य प्राप्त गर्न मद्दत गर्ने बताउँदै भारतका प्याज व्यापारी र विशेषगरी महाराष्ट्रका किसानहरूले निर्यात प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका थिए ।

अहिले भने प्याज भारतको चुनावी मुद्दा बनेको छ । विपक्षी दल कांग्रेसले किसानको हितको लागि प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने बताउँदै आएको थियो । कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा पनि आकस्मिक र हानिकारक नीतिहरूबाट कृषकहरूलाई जोगाउन पूर्वनिर्धारित आयात-निर्यात नीतिको प्रतिबद्धता जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालमा दोहोरिन चाहेका छन् । उनले अहिले चुनाव जित्न सबै शक्ति लगाइरहेका छन् । आफ्नो गठबन्धले दुईतिहाई सिट जित्ने दाबी गरिरहेका छन् ।

अहिले चुनावकै बीच मोदीले भोट तान्न किसान र प्रतिपक्षीले उठाएको माग सम्बोधन गरेको कतिपयले विश्लेषण गरेका छन् । धेरै प्याज उत्पादन हुने महाराष्ट्र लगायत राज्यमा चुनाव हुनै बाँकी छ । यही बेला किसानहरूको भोट सजिलै तान्न मोदीले प्याज निर्यात खुलाएको टिप्पणी भइरहेको छ ।

भारतको हरेक चुनावको बेला प्याजको मुद्दा जोडतोडले उठ्ने गरेको छ । प्याज जहिले पनि भारतको राजनीतिक अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहँदै आएको छ ।

विगतमा चुनावमा पनि भारतमा प्याज मुख्य मुद्दा बनेको थियो । सन् १९८० मा इन्दिरा गान्धीले संघीय चुनावलाई ‘प्याज चुनाव’को रुप टिप्पणी गरेकी थिइन् । त्यसबेला, गैर–कांग्रेस सरकारलाई हराउँदै इन्दिरा गान्धीले चुनाव जितेकी थिइन् ।

भारत विश्वकै ठूलो प्याज निर्यातकर्ता हो । एशियाली देशहरूमा भारतीय प्याजले आधाबढी हिस्सा ओगटेको छ । सन् २०२३ मा निर्यात प्रतिबन्ध अघि भारतले २५ लाख मेट्रिकटन प्याज निर्यात गरेको थियो ।

 

नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

चौथो संस्करणको मेरोअटो मोटर र्‍याली सम्पन्न, अफरोडमा पहिलो अनुभव Read Next

चौथो संस्करणको मेरोअटो मोटर र्‍याली सम्पन्न, अफरोडमा पहिलो अनुभव