कुमारीसहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ६ वटा बैंक र तिनका संचालक, पदाधिकारीलाई कारबाही गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुगमन तथा निरीक्षणको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ४ वाणिज्य बैंक र २ विकास बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले प्राइम कमर्शियल, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा बैंकको २०७८ चैत्र महिनाको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकोलेले प्राइमका सीईओलाई नसिहत दिएको छ ।

त्यस्तै, कुमारी बैंकले जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि,२०७५ विपरीत ब्याज अनुदान दिएकोले सञ्चालक समिति र सीईओलाई सचेत गराइएको छ । साथै, बैंकका सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख रुपैयाँ भुक्तानी दिने निर्णय गरेकोले संचालक समितिलाई सचेत गराएको छ । साथै, ३५ दिनभित्र उक्त रकम असुलउपर गर्न निर्देशन दिइएकोमा सो रकम असुलउपर भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, इन्भेष्टमेन्ट मेगाले कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र कालिमाटी शाखाले कन्फर्म गरी सो प्रतीतपत्र अन्तर्गत भएको कारोबारमा निवेदक कम्पनीबाट प्रोमीसरी नोट जारी गरी ४१.६३ करोड कर्जा बराबरको बिल पर्चेज गरेको, प्रतीतपत्रको म्याद थप गरी इभरग्रीन गरी असल कर्जामा देखाइ पूँजीकोष गणना गरेको भन्दै कारबाही गरेको छ ।

त्यस्तै, लक्ष्मी सनराइज (साविकको लक्ष्मी बैंक)को १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी राजेन्द्र कुमार खेतानलेसोही बैंककोऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जा मध्ये ११ करोड ४४ लाख रुपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरी/गराई उपयोग गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी/गराई भुक्तानी भएकोले संचालक खेतानलाई १० लाख जरिवान गरेको छ । साथै, बैंकबाट प्रवाह भएको कर्जा बैंकका सेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकोले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका सीईओलाई सचेत गराएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकले ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।एक्सल डेभलपमेन्ट बैंकले एकीकृत निर्देशन परिपालना नगरेकाले कारबाही गरिएको राष्ट्र बैंक्ले जनाएको छ ।

अब ठोरी छोटी भन्सारबाट पनि सवारीसाधनको अस्थायी पैठारी हुने  Read Previous

अब ठोरी छोटी भन्सारबाट पनि सवारीसाधनको अस्थायी पैठारी हुने 

सेयर बजारमा करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

सेयर बजारमा करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट