निर्माण र उद्योग क्षेत्रमा आएन सुधार, आवास र यातायात क्षेत्रको वृद्धिदर उच्च

काठमाडौं । उद्योग र निर्माण क्षेत्रमा अझै सुधार आउन नसकेका देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा उद्योग र निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक हुनेछ । यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर १.६ प्रतिशत र निर्माण क्षेत्रको २.०७ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको हो । गत वर्षको तुलनामा उद्योग क्षेत्रमा झिनो सुधार आउने देखिए पनि निर्माण क्षेत्र झन् खस्किने अनुमान गरिएको छ । गत वर्ष उद्योगको वृद्धिदर १.६ प्रतिशत र निर्माण क्षेत्रको वृद्धिदर १.१ प्रतिशत थियो ।

निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो । साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुलताले विश्वव्यापी रूपमा अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो ।

कार्यालका अनुसार औद्योगिक वर्गीकरणका १८ क्षेत्रमध्ये चालु वर्षमा १५ क्षेत्रको वृद्धिदर धनात्मक र ३ क्षेत्रको ऋणात्मक हुने प्रक्षेपण गरिएको छ । यस वर्ष उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार गाडी तथा मोटरसाइकल मर्मत सेवाको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरि१ो छ । जसको असर आर्थिक वृद्धिदरमा पर्ने भएको छ । सरकारले चालु आवमा ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि ३.५४ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

चालु आवमा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आव २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने अनुमान गरिएको छ ।

चालु आवमा आवास तथा भोजन सेवाको मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आवमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो ।

यसैगरी, चालु आवमा यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ११.८९ प्रतिशत, विद्युत्, ग्यास क्षेत्रको १७.४४ प्रतिशत, वित्तीय तथा बीमासम्बन्धी सेवा ७.८० प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप ५.५२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा, अनवार्य सामाजिक सुरक्षाको वृद्धिदर ४.४९ प्रतिशत हुने कार्यालयको अनुमान छ ।

त्यस्तै, खानी तथा उत्खनन् क्षेत्रको चालु आवको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा सामान्य गिरावट भएता पनि खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी सङ्कलनमा गत आवको तुलनामा उल्लेख्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर चालु आवमा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार हुने अनुमान गरिएको हो ।

 

सूचना तथा सञ्चारतर्फ चालु आवमा कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा कम्प्युटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ ।

घरजग्गा कारोबारको सेवा चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घर जग्गाको कारोबार तुलनात्मक रूपमा कमी भएता पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।

चालु आवमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

आइएमई ग्रुपले इन्डोनेसियाको कम्पनीसँग ऊर्जा परियोजनामा साझेदारी गर्ने Read Previous

आइएमई ग्रुपले इन्डोनेसियाको कम्पनीसँग ऊर्जा परियोजनामा साझेदारी गर्ने

नेपाल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने Read Next

नेपाल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने