वैशाख । भारतको चर्चित आइटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्यून होटेल्स्ले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको छ ।
बुधबारदेखि भक्तपुरमा फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पा संचालनमा आएको हो । काठमाडौँबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दूरीमा फर्च्यून रिसोर्ट पुग्न सकिन्छ ।
फर्च्यून होटेल्स्का प्रबन्ध निर्देशक समिर एमसीले भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरूआत नेपालमा गर्न पाउँदा हर्षित भएको बताए ।
‘नयाँ वर्षको सुरूमै भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरूवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हामी दक्षिण एसिया र नजिकका अरु देशहरूमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ । यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो । सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरूले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरूको पहिलो रोजाइमा पर्छ । त्यसैले हामी हाम्रो संजालको प्रयोग गर्दै फर्च्यून होटेल्स्को सुविधाहरू नेपालमा ल्याउन चाहन्छौँ,’ उनले भने ।
हिलटेक हेल्थ एण्ड होम्स् प्रालिका अध्यक्ष कमल जैनले भने, ‘फर्च्यून होटेल्स्सँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी छौं । फर्च्यून होटेल्स् एक चर्चित होटल संजाल मात्र नभएर हाम्रो लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो । फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ । हामी आतिथ्यताको पभिाषालाई पूर्ण व्याख्या गर्ने ढङ्गले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाइमा पुर्याउनेछौँ ।’
शान्त वातावरणमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ती खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाइएको छ ।
रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधाहरू उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ ।
शाकाहारी खानाका पारखीहरूलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरू उपलब्ध छन् । साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरू उपलब्ध हुने रिसोर्टले जनाएको छ । थरि थरिका स्वादिष्ट भोजन र पुल बारको साथ रिसोर्टले आफ्ना ग्राहकहरूलाई सर्वाेत्कृष्ट सेवा प्रदान गर्न कुनै कसर बाँकी राखेको छैन ।
थुप्रै फराकिलो ब्याङ्कवेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तव्यको रुपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ । रिसोर्टमा ८ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको प्रि फङ्कसन क्षेत्र र ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुल रहेको छ । यो सबै कुराहरूले यस रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य बनाउँछ जहाँ करिब ६०० पाहुनाहरू आरामले अटाउँछन् ।
रिसोर्टमा पार्टि र बैठकको लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको छ । ठूला सामाजिक कार्य, सम्मेलन र विशेष जमघट आयोजना गर्नका लागि सुन्दर ढङ्गले बनाइएको र उपयुक्त रूपमा सुसज्जित रिसोर्ट सबै उत्सव लागि उत्कृष्ट गन्तव्य हुनसक्छ ।