काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंककको बाह्य लेखा परीक्षण गर्नका लागि ५ लेखा परीक्षक (अडिट फर्म) सर्टलिष्ट गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सहयोगमा गर्न लागिएको बाह्य लेखा परीक्षणका लागि ५ संस्था छनोट गरिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २ स्वदेशी र ३ विदेशी संस्था सर्टलिस्टमा परेका छन् । जसमा नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानीका सीएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स छनोटमा परेका छन्।
त्यस्तै, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी छनोटमा परेका छन् । अब यी छनोटमा परेका ५ संस्था मध्येबाट १० ठूला बैंकको बाह्य परीक्षणका लागि कम्पनी छनोट गरिनेछ ।
नेपालका बैंकहरूको कर्जाकाे गुणास्तरमा आशंक लागेपछि आइएमएफले आफ्नै सहयोगमा बाह्य लेखा परीक्षण गर्न सरकारकालाई भनेको थियो ।
नेपाली बैंकहरूको कर्जाको गुणस्तर जाँच गरिने भएको हो । यसका लागि बैंकहरूले कर्जा लगानी गर्दा लिएको धितोको मूल्यांकन गर्ने, ऋण तिर्नका लागि ऋण लिने परिपाटी भए/नभएको, कर्जा केन्द्रीकृत भए/नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ भन्ने लगायत परीक्षण गरिन्छ ।
सन् २०२१ डिसेम्बर २२ मा नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।
त्यसपछि आइएमएफले नेपाललाई शर्तसहित ३८ महिनाको लागि प्राप्त हुने गरी ३९ करोड ८८ लाख डलरको सहयोग गर्ने बताएको थियो । आइएमएफले नेपालका १० ठूला बैंकहरूको अन्तर्राष्ट्रिय अडिट फर्मले स्थलगत निरीक्षण गर्ने शर्त राखेको थियो ।नेपालले आइएमएफलाई पेश गरेको ज्ञापनपत्रमा २०२३ मार्च भित्र १० ठूला बैंकको स्थलगत निरीक्षण गरिसक्ने बताए पनि ईसीएफको कार्यान्वयनमा भएको ढिलाईसँगै केहीपछि धकेलिएको हो।