काठमाडौं । नेपालको कुनै पाँचतारे होटलमा रात बिताउन कति पैसा लाग्ला ? ७० वा ८० डलर । ‘अफ सिजन’मा त झन २५-३० डलरमै कोठा बेच्छन् भनेर आलोचित भइरहन्छन् नेपाली होटलहरु । पछिल्लो समय त झन् तारे होटलहरुको संख्या बढेसँगै होटलका कोठाहरु झन् सस्तिन थालेका छन् भन्ने समाचारहरु बाहिर आइरहेका छन् ।
तर, नेपालकै धुलिखेलस्थित ‘दि द्धारिकाज रिसोर्ट’ले दुई रातको लागि १ जनालाई ६९ हजार ५ सय र दुईजनाको लागि २ रातको ८५ हजार ८ सय रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । रिर्सोटले अबको १५ दिनमा आउन लागेको क्रिसमस र अंग्रेजी नयाँ वर्षको लागि उक्त प्याकेज सार्वजनिक गरेको हो ।
‘गत वर्ष पनि हामीले यहि प्याकेज सार्वजनिक गरेका थियौं । हामीले गत वर्ष यो प्याकेज १० वटा बिक्री गरेका थियौं,’ रिसोर्टको बजार तथा बिक्री प्रबद्र्धन विभागका एक कर्मचारीले बताए,‘यो वर्ष हामीले त्यो भन्दा बढी बेच्ने लक्ष्य राखेका छौं ।’ गत वर्षको प्याकेजमा नेपाली लगायत विदेशीहरुले पनि उक्त प्याकेज खरिद गरेको उनले जानकारी दिए ।

नेपालका पर्यटकीय उत्पादनहरु सस्तो बनाएर बिक्री गर्ने होडबाजी नै चलेको छ । होटल तथा रिसोर्टहरु सस्तो प्याकेज बनाएर आफ्नो सञ्चालन खर्च मात्र भएपनि धान्न उद्दत भइरहेको अवस्थामा यस्ता ‘एक्जोटिक’ प्याकेजहरुले पनि गुणस्तरीय पर्यटकहरुलाई आकर्षित गर्न सक्छ भन्ने उदाहरण यो प्याकेजले दिएको छ ।
‘भुटानमा विदेशीको लागि एक दिन बस्न कम्तीमा २ सय डलर खर्च गर्नुपर्छ । हाम्रोमा औसत ५० डलर खर्च गरिरहेका छन् पर्यटकले । भुटान एक्जोटिक, नेपाल चिप भन्ने अवस्था आउन दिनुहुँदैन,’ भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य बताउँछन् ।
डिसेम्बर महिना क्रिसमस र नयाँ वर्षको चहलपहल हुने महिना हो । क्रिसमसको आगमनसँगै नेपालका विभिन्न होटलहरुमा विशेष चहलपहल शुरु हुने गरेको छ । क्रिसमसको आगमनको एक महिना अगाडिनै होटल तथा रेष्टुरेन्टहरुले विभिन्न प्याकेजहरु सार्वजनिक गर्न शुरु गरिसकेका छन् ।
धुलिखेलको मनोरम डाँडाकाँडाको मनमोहक दृश्य देखिने ‘लोकेशन’मा अवस्थित यो ‘लग्जरी’ रिसोर्टको ग्राहक लक्षित क्रिसमस प्याकेज दुई प्रकारको रहेको छ । पहिलो प्याकेज अन्तर्गत सिंगल अकुपेन्सीको (एकजनाको लागि) शुल्क ६९ हजार ५ सय रहेको छ । जसमा कुनै कर जाेडिएकाे छैन ।

त्यस्तै डबल अकुपेन्सीको (दुई जनाको लागि) शुल्क ८५ हजार ८ सय मात्र रहेको छ । यसमा नियम अनुसार लाग्ने १० प्रतिशत सर्भिस चार्ज तथा १३ प्रतिशत भ्याट समेत थपिनेछ । सर्भिस चार्ज र भ्याट समेत जोड्दा एकजनालाई दुई रात र एक दिनको प्याकेजको कूल रकम ८६ हजार ३ सय ८८ रुपैयाँ र दुई जनालाई १ लाख ६ हजार ६ सय ५० शुल्क लाग्नेछ ।
के-के पाइन्छ त यो शुल्क तिरेपछि ?

यदि दुईजना गएर दि द्धारिकाज रिसोर्टमा क्रिसमस प्याकेजमा बस्ने हो भने दुई रात सुत्न र ब्रेकफास्ट खान पाइनेछ । त्यस्तै क्रिमस इभमा साँझको डिनर तथा ‘ब्रन्ज’को व्यवस्था रहेको छ । त्यस बाहेक बाँकी दिनको लन्च, डिनर तथा अन्य पेय पदार्थको शुल्क भने मेनु अनुसारकै लाग्ने रिसोर्टले जनाएको छ ।
प्याकेजमा आयुर्वेदिक डाक्टरसँग निःशुल्क परामर्शको साथै दैनिक योगा र ध्यानको कक्षामा सहभागी हुन पाईनेछ । त्यस्तै पोटरी (माटोको भाँडा बनाउने काम) तथा पेन्टीङ्गको समेत प्रशिक्षण यसै प्याकेज अन्तर्गत लिन पाइने रिसोर्टले जनाएको छ ।