जीवन बीमामा नेपाल लाइफको वर्चश्व कायमै, लघुबीमाको हिस्सा नगन्य

काठमाडौं । जीवन बीमा व्यवसायमा सुधार आएको छ । आर्थिक मन्दीका कारण सुस्ताएको जीवन बीमा व्यवसायमा पछिल्ला महिनाहरूमा क्रमशः सुधार देखिन थालेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत वर्ष चैतको तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमा कम्पनीको बीमाशुलक संकलन ५.१८ प्रतिशतले बढेको छ ।

चालु आव २०८०/८१ को चैतसम्म १४ जीवन बीमा र ३ लघु जीवन बीमाले कुल १ खर्ब १० अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ४२ करोड रुपैयाँ धेरै हो । गत वर्ष सोही अवधिमा कम्पनीहरूले १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँ बराबर प्रिमियम संकलन गरेका थिए ।

यस अवधिमा १४ जीवन बीमा कम्पनीले १ खर्ब १० अर्ब ८ करोड र ३ लघुबीमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस अवधिमा १४ मध्ये ११ जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन बढेको छ भने ३ वटाको घटेको छ ।

चैतसम्म बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क र नवीकरण दुवै बीमा शुल्क आर्जन बढेको छ । यसअघिका महिनाहरूमा प्रथम बीमा शुल्क संकलन घटेको थियो भने चैतमा बढेको छ ।

प्राधिकरणका अनुसार चालु आवको चैतसम्म बीमा कम्पनीले २१ अर्ब ५४ करोड रुपैयाँ बराबरको नयाँ पोलिसी जारी गरेका छन् । गत वर्षको तुलनामा ५३ करोडले नयाँ व्यवसाय बढाएका हुन् ।

बीमा कम्पनीको समग्र व्यवसाय भने पुरानै पोलिसीले धानेको देखिन्छ । कुल बीमा शुल्कको ८० प्रतिशत रकम बीमालेख नवीकरणाबाट उठाएका छन्। चैतसम्म ८८ अर्ब ६१ करोड रुपैयाँ नवीकरण शुल्क आर्जन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ८९ करोड रुपैयाँ हो । गत वर्ष चैतसम्म नवीकरण बापत ८३ अर्ब ७२ करोड रुपैयाँ संकलन गरेका थिए ।

चैतमा मात्रै बीमा कम्पनीहरूले २ अर्ब ८१ करोड प्रथम बीमा शुल्क र ८ अर्ब ७५ करोड नवीकरण शुल्क उठाएका छन् ।

बीमा लेख संख्या भने घट्यो

समीक्षा अवधिमा प्रिमियम संकलन बढे पनि सक्रिय बीमालेखको संख्या भने घटेको छ । गत वर्षको तुलनामा सक्रिय बीमा लेखको संख्या २ लाख ९९ हजार ३८३ वटाले घटेको छ ।

गत वर्षको चैतसम्म सक्रिय रहेको कुल बीमा लेखको संख्या १ करोड ४१ लाख ६५ हजार ९९८ रहेकोमा यस वर्षको सोही अवधिसम्म आइपुग्दा घटेर १ करोड ३८ लाख ६६ हजार ६१५ रहेको छ । जबकि यस वर्ष तीनवटा लघु जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय थपिएको छ ।

नेपाल लाइफको वर्चश्व कायमै

समीक्षा अवधिमा बीमा शुल्क संकलनमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेपाल लाइफले मात्रै २९ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.७३ प्रतिशत हिस्सा हो ।

गत वर्ष ३ कम्पनी मर्ज भई दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफले व्यवसायमा नेपाल लाइफलाई टक्कर दिन सकेको देखिँदैन । नेपाल लाइफको तुलनामा हिमालयनको व्यवसाय आधाभन्दा कम छ । चैतसम्म हिमालयनले १२ अर्ब ३३ करोड बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, चैतसम्म सूर्यज्योति लाइफले ६ अर्ब ५२ करोड, एशियन लाइफले ५ अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड, सिटिजन लाइफले ४ अर्ब २४ करोड, मेट लाइफले ४ अर्ब १३ करोड, आइएमई लाइफले ३ अर्ब २९ करोड, प्रभु महालक्ष्मीले ३ अर्ब ६ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड र सन नेपाल लाइफले २ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

लघुबीमाको हिस्सा नगन्य

समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको ९ महिनामा जम्मा ७ करोड ८८ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल व्यवसायकको ०.०७ प्रतिशत मात्र हो ।

चैतसम्म गार्डियन माइक्रो लाइफले २ करोड ४ लाख, क्रेष्ट माइक्रो लाइफले ४ करोड ८१ लाख र लिबर्टी माइक्रो लाइफले १ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

फरवार्ड माइक्रोफाइनान्सको नाफा साढे दुई गुणा बढ्यो, वितरणयोग्य नाफा कति ? Read Previous

फरवार्ड माइक्रोफाइनान्सको नाफा साढे दुई गुणा बढ्यो, वितरणयोग्य नाफा कति ?

लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ? Read Next

लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?