फरवार्ड माइक्रोफाइनान्सको नाफा साढे दुई गुणा बढ्यो, वितरणयोग्य नाफा कति ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १६७.१६ प्रतिशतले बढेको हो ।

चालु आवको चैत मसान्तसम्म लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा साढे दुई गुणा अर्थात् ७ करोड २९ लाख रुपैयाँ धेरै हो । लघुवित्तले गत चैतसम्म ४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा फरवार्डको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उछाल आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.१६ प्रतिशत बढेर ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा १८०.०३ प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन तथा सापटी लिई १९ अर्ब ८२ करोड ऋण लगानी गरेको छ ।

हाल १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर रिटेन्ड अर्निङमा ३३ करोड ८७ लाख र जगेडा कोषमा १ अर्ब ४४ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य नाफा ३३ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी झन्डै ३ गुणाले बढेको छ । गत वर्ष चैतमा ५.५१ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी बढेर अहिले १४.७२ रुपैयाँँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६९.३४ रुपैयाँ छ भने खराब कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ ।

निजी क्षेत्रको मनोबल उठाउन 'बोल्ड' निर्णय हुन्छ : अर्थमन्त्री पुन Read Previous

निजी क्षेत्रको मनोबल उठाउन 'बोल्ड' निर्णय हुन्छ : अर्थमन्त्री पुन

जीवन बीमामा नेपाल लाइफको वर्चश्व कायमै, लघुबीमाको हिस्सा नगन्य Read Next

जीवन बीमामा नेपाल लाइफको वर्चश्व कायमै, लघुबीमाको हिस्सा नगन्य