चम्किँदै सिमेन्टको वैदेशिक व्यापार, महिनामै आधा अर्बको निर्यात

काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनका कारण स्वदेशी बजारमा सिमेन्टको खपत बढ्न नसके पनि वैदेशिक व्यापार भने फस्टाउँदै गएको छ ।

भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै जाँदा मासिक आधा अर्ब रुपैयाँसम्मको निर्यात हुन थालेको छ । यसअघि विदेशिँदै आएका वस्तुहरूको समेत निर्यात घटिरहेको बेला पछिल्लो समय नेपालबाट सिमेन्ट, प्लाइवुड, डण्डी तथा फलामजन्य वस्तुको निर्यात भने ह्वात्तै बढेको छ । जसले मुलुकको डरलाग्दो व्यापार घाटा घटाउन थोरै भए पनि भूमिका खेलेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आव २०८०/८१ को ९ महिना (साउन-चैत)मा नेपालबाट हुने निर्यात ३.६६ प्रतिशतले घटेको छ । तर, यही अवधिमा सिमेन्ट निर्यात भने ६०३ प्रतिशतले बढेको छ ।

विभागको तथ्यांक अनुसार चालु वर्षको चैतसम्म २ अर्ब ९७ करोड रुपैयाँ बढिको सिमेन्ट तथा क्लिङ्कर विदेशिएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ७ गुणा धेरै हो । गत वर्ष चैतसम्म कुल ४२ करोड ३१ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।

चालु वर्षको ९ महिनामै गत वर्ष भरीकोभन्दा २ अर्ब १९ करोड रुपैयाँ बढीको सिमेन्ट निर्यात भएको हो । गत आव २०७९/८० मा कुल ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।

विभागका अनुसार चालु आवको चैतसम्म १ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बराबरको ४ लाख ३९ हजार १०५ मेट्रिकटन क्लिंकर (सिमेन्टको कच्चा पद्धार्थ) निर्यात भएको छ ।

त्यस्तै, यही अवधिमा १ अर्ब ४९ करोड ५६ लाख रुपैयाँको २० लाख ७० हजार ४७३ मेट्रिकटन तयारी सिमेन्ट निर्यात भएको छ ।

निर्यात सुरू भएको डेढ वर्षमै सिमेन्ट नेपालबाट निर्यात हुन् प्रमुख वस्तुको सूचीमा पर्न थालेको छ । अहिले सिमेन्ट नेपालबाट निर्यात हुने प्रमुख १५ वस्तुभित्र परिसकेको छ । चालु वर्षाकाे ९ महिनामा १ खर्ब ३३ अर्बको वस्तु निर्यात हुँदा सिमेन्टको हिस्सा २.२५ प्रतिशत पुगेको छ ।

एक महिनामै ५० करोडको निर्यात

नेपालबाट सिमेन्ट निर्यात सुरू हुँदा केही महिना लाखमा सीमित भएको व्यापार अहिले महिनामै आधा अर्ब पुगेको छ । विभागको तथ्यांक चैत महिनामा मात्रै ५० करोड २९ लाख रुपैयाँको रुपैयाँ सिमेन्ट निर्यात भएको छ । यो हालसम्म कुनै एक महिनामा निर्यात भएको सबैभन्दा धेरै हो ।

यसअघि गत असोजमा सबैभन्दा धेरै ४३ करोड ४६ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात थियो । त्यस्तै, फागुनमा ४१ करोड ९ लाख, माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड १० लाख, मंसिरमा ३६ करोड, कात्तिकमा २७ करोड ७७ लाख, साउनमा २३ करोड ५० लाख र भदौमा १८ करोड ३५ लाख रुपैयाँ बराबरका निर्यात भएको विभागको तथ्यांक छ ।

चालु वर्षमा औसतमा मासिक ३३ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको छ । नेपालबाट पहिलोपटक २०७९ असारदेखि सिमेन्ट निर्यात हुन थालेको थियो । सो महिना करिब १५ लाख रुपैयाँ सिमेन्ट निर्यात भएको थियो ।

नगद अनुदानले खोलेको निर्यातको ढोका

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले निर्यातको सम्भावना देखेपछि सरकारले गत वर्षको बजेटमार्फत निर्यातको ढोको खोलेको थियो । आव २०७९/८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुड लगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । त्यसपछि नेपालबाट सिमेन्ट, प्लाइवुड लगायत वस्तु निर्यातको नयाँ ढोका खुलेको थियो ।

नेपालबाट सिमेन्ट निर्यात हुन थालेको डेढ वर्ष वढी भइसकेको छ । यस अवधिमा आधा दर्जन उद्योगले निर्यात थालेका छन् । पहिलोपटक २०७९ असार २४ गते पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू गरेको थियो ।

त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र २०८० गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात थालेका थिए । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले पनि गत मंसिर १६ गतेदेखि भारतमा क्लिंकर निर्यात सुरू गरेको थियो ।

अन्य सिमेन्ट उद्योगहरूले पनि भारत निर्यातको तयारी गरिरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । सो प्रक्रियामा रहेकाले थप उद्योगले पनि चाँडै निर्यात थाल्ने संघको भनाइ छ । अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै महिनामै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।

नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।

नेप्सेमा गिरावट, घट्दो बजारमा फाइनान्सको सेयरमा भने आकर्षण Read Previous

नेप्सेमा गिरावट, घट्दो बजारमा फाइनान्सको सेयरमा भने आकर्षण

सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग बढ्दो, पोखरामा दर्ता भए ५० बढी ईभी भ्यान Read Next

सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग बढ्दो, पोखरामा दर्ता भए ५० बढी ईभी भ्यान