काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि २२ अर्ब ३५ करोड रुपैयाँ, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप सात अर्ब ११ करोड ९० लाख रुपैयाँ , जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि पाँच अर्ब ६५ करोड रुपैयाँ र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन पाँच अर्ब ६५ करोड रुपैयाँ प्रदान गर्नेछ ।
नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा आयोजित समारोहमा बैंकका देशीय निर्देशक मुख्तोरखामुदखानोभ र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे।
दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनीखण्डलाई चार ‘लेन’ मा विस्तारमा उपयोग गरिनेछ । त्यसैगरी बागमती नदीको सौन्दर्यीकरणका साथै ढल प्रशोधन केन्द्र निर्माण गरिनेछ ।
त्यस अवसरमा देशीय निर्देशक खामुदखानोभले नेपालको सामाजिक-आर्थिक विकासका निम्ति एडिबीले उल्लेख्यमात्रामा सहायता रकम वृद्धि गरेको बताउँदै त्यसले बैङ्क र नेपाल सरकारबीचको साझेदारी एवं सहकार्यलाई उजागर गर्छ भने ।
सचिव खनालले नेपालको अर्थतन्त्रको उन्नयन, भौतिक पूर्वाधार निर्माण, कृषि तथा ग्रामीण क्षेत्रका आर्थिक विकासमा एडिबीले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे।