व्यवसाय विस्तारमा आक्रमक बन्दै नबिल, खस्किँदै प्रभु, कुनको अवस्था कस्तो ?

काठमाडौं । पछिल्लो एक/डेढ वर्ष यता बैंकिङ व्यवसाय सुस्त देखिएको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण बैंकहरूले अपेक्षित रूपमा व्यवसाय विस्तार गर्न नसकेका हुन् ।

चालु वर्षमा बैंकहरूले निक्षेप बढाए पनि सोही अनुपातमा कर्जा विस्तार गर्न सकेका छैनन् । अर्कोतर्फ आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा बैंकहरूको कर्जा असुलीमा समस्या देखिएको छ । जसकारण बैंकहरूको नाफा घट्नुका साथै खराब कर्जा ह्वात्तै बढेको छ । चैतसम्म वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशतले घटेको छ भने खराब कर्जा बढेर औसतमा ३.६४ प्रतिशत पुगेको छ ।

चालु आवको कात्तिकदेखि ब्याजदर घट्दो क्रममा छ । कर्जा लगानी बढाउन नेपाल राष्ट्र बैंकले पनि नीतिगत लचकता अपनाउँदै आएको छ । अर्थतन्त्र शिथिल नहुँदा र व्यवसायीको मनोवल बढ्न नसक्दा अझै कर्जाको माग बढ्न सकेको छैन ।

पछिल्लो १ वर्ष यता निक्षेप संकलन एकोहोरो बढिरहेको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, घट्दो आयात लगायत कारणले निक्षेप लगातार थपिरहेको हो । १ वर्षको अवधि (२०७९ चैत-२०८० चैतसम्म)मा वाणिज्य बैंकहरूले ३ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा बैंकहरूको निक्षेप ७.२५ प्रतिशत बढेको छ ।

तर, यही अवधिमा बैंकहरूको कर्जा लगानी भने न्यून छ । निक्षेप सवा ७ प्रतिशतले बढ्दा कर्जा लगानी ५.३५ प्रतिशत मात्रै छ । जबकि अघिल्ला वर्षहरूमा बैंकहरूको निक्षेपभन्दा कर्जा वृद्धिदर धेरै हुने गरेको थियो । पछिल्लो १ वर्षमा बैंकहरूले २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

निक्षेप बढिरहँदा बैंकहरूको ब्याज खर्च बढिरहेको छ भने कर्जा विस्तार गर्न नसक्दा आम्दानी पनि घटिरहेको छ । कर्जाको माग नहुँदा बैंकहरूले आफूले संकलन गरेको निक्षेप बैंकमै थुपारेर राख्न बाध्य भएका छन् । अधिक तरलता भएपछि बैंकहरूले महँगोमा उठाएको निक्षेप ३ प्रतिशत ब्याजदरमा राख्नु परिरहेको छ ।

कर्जाको माग बढ्न अहिले बैंकिङ प्रणालीमा साढे ५ खर्ब बढी तरलता थुप्रिएको छ । राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ६० अर्ब कर्जा लगानी गर्नुपर्छ । तर, चालु आवको ९ महिना (चैतसम्म) २ खर्ब ४० अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । यो लक्ष्यको ४२ प्रतिशत मात्र हो । पछिल्लो समय कर्जाको माग थोरै बढ्न थाले पनि यस वर्ष कर्जा विस्तारको लक्ष्य भने हासिल नहुने देखिएको छ ।

व्यवसाय विस्तारमा नबिल आक्रमक

आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक सबैभन्दा आक्रमक देखिएको छ । १ वर्षको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा तेस्रो स्थानमा रहेको छ ।

समीक्षा अवधिमा नबिलले सबैभन्दा धेरै २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यो वाणिज्य बैंकहरूले १ वर्षको गरेको कुल कर्जा लगानीको १७ प्रतिशत हो । यस्तै, यस अवधिमा नबिलले ४४ अर्ब निक्षेप संकलन गरेको छ ।

समीक्षा अवधिमा निक्षेप संकलनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आक्रमक देखिएको छ । यस अवधिमा इन्भेष्टमेन्टले सबैभन्दा धेरै ४९ अर्ब रुपैयाँ निक्षेप थपेको छ । यस बैंकको निक्षेप वृद्धिदर १३.८४ प्रतिशत छ । तर, यस बैंकले कर्जा विस्तार गर्न भने सकेको छैन । ४९ अर्ब निक्षेप संकलन गरेको इन्भेष्टमेन्टले सोही अवधिमा जम्मा १० अर्ब मात्र ऋण लगानी गर्न सकेको छ ।

त्यस्तै, समीक्षा अवधिमा राष्ट्रि वाणिज्य बैंकले ४७ अर्ब, ग्लोबल आइएमईले ३३ अर्ब, कृषि विकासले २९ अर्ब रुपैयाँ निक्षेप थपेका छन् । प्राइमले २८ अर्ब, नेपाल एसबीआई २४ अर्ब, हिमालयन २३ अर्ब, नेपाल १७ अर्ब, एभरेष्ट र एनआइसी एशिया समान १६ अर्ब, लक्ष्मी सनराइजले १५ अर्ब निक्षेप संकलन गरेका छन् ।

यस अवधिमा ३ बैंकको निक्षेप भने घटेको छ । जसमा प्रभुको सबैभन्दा धेरै ११ अर्ब रुपैयाँ घटेको छ । त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्डको ७ अर्ब र माछापुच्छ्रेको ५ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

कर्जा विस्तारमा नबिलपछि प्राइम कमर्शियल आक्रमक देखिएको छ । १ वर्षमा प्राइमले २८ अर्ब निक्षेप संकलन गरी २४ अर्ब ऋण लगानी गरेको छ ।

कृषि विकास २० अर्ब, राष्ट्रिय वाणिज्य र एभरेष्ट समान १९ अर्ब, एनआइसी एशिया १६ अर्ब, सानिमा १५ अर्ब, सिटिजन्स १३ अर्ब र ग्लोबलले १२ अर्ब कर्जा विस्तार गरेका छन् । त्यस्तै, समीक्षा अवधिमा सिद्धार्थले ९ अर्ब, नेपाल ७ अर्ब, एसबीआई र हिमालयन समान ६ अर्ब, कुमारी ४ अर्ब, एनएमबी ३ अर्ब, लक्ष्मी सनराइज र स्ट्याण्डर्ड चार्टर्डले समान २ अर्ब ऋण लगानी गरेका छन् ।

खस्किँदै प्रभु

१ वर्षको व्यवसाय हेर्दा प्रभु बैंकको अवस्था झन्झन् दयनीय बन्दै गएको छ । गत वर्ष सेञ्चुरी कमर्शियल बैंकलाई गाभेर चुक्ता पूँजीमा ठूलो बने पनि व्यवसाय ग्रोथ खस्किँदै गएको छ । यस बैंकको नाफा घट्दै गएको छ भने खराब कर्जा सीमा अर्थात् ५ प्रतिशत नजिक पुगेको छ ।

समीक्षा अवधिमा १७ बैंकले निक्षेप बढाउँदा प्रभुबाट भने सबैभन्दा धेरै ११ अर्ब निक्षेप बाहिरिएको छ । यस अवधिमा प्रभुले आफूसँग भएको निक्षेप समेत जोगाउन सकेको देखिँदैन । त्यस्तै, समीक्षा अवधिमा अरु सबै बैंकले कर्जा लगानी बढाउँदा प्रभुको उल्टो घटेको छ । १ वर्षमा प्रभुको कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले घटेको छ ।

अरुण भ्याली हाइड्रोपावरको २० लाख कित्ता सेयर लिलामी खुल्यो, प्रतिकित्ता मूल्य कति ? Read Previous

अरुण भ्याली हाइड्रोपावरको २० लाख कित्ता सेयर लिलामी खुल्यो, प्रतिकित्ता मूल्य कति ?

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ Read Next

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ