तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । २०८१ साल वैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।
कोभिडका समयमा निर्माणकार्य स्थगित गर्नुपरेकाले नेपाल सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए।
विसं २०७८ वैशाख महिनादेखि निर्माण सुरु गरिएको थियो । कोरोनाका कारण काम गर्न नपाएका योजनाका म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप म्याद थप्न लागेको उनले बताए । उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र ९ किमी दुई लेन सडक कालोपत्र भएको छ । उनका अनुसार हालसम्म पूर्वी खण्डमा ५६ प्रतिशत कार्य प्रगति भएको छ ।
पूर्वी खण्डको अन्तिम विन्दु तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र अघि बढाइएको छ । अहिले कालोपत्र कार्यलाई प्राथामिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजना पूरै सम्पन्न गर्न एक वर्ष अवधि थप गर्नुपर्ने आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, लगानीकर्ता र कन्ट्र्याक्टबीच त्रिपक्षीय छलफल भइरहेको छ ।
पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो । उक्त खण्डका लागि रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।
त्यसैगरी पश्चिम खण्डमा दुई लेनको ७.५ किमी सडक कालोपत्र भइसकेको छ । वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई तीव्रता दिइएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार उक्त खण्डमा भौतिक प्रगति २० प्रतिशत पुगेको छ ।
पश्चिम खण्ड अन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी रहेको छ । उक्त खण्डको ठेक्का चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले पाएको थियो ।
यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।