नागढुंगा-नौबिसे सुरुङमार्गको अझै २७% काम बाँकी, कहिलेदेखि गुड्छन् गाडी ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्गकाे सुरुङ ‘ब्रेक थ्रु’ गरिए पनि अझै एकचौथाई बढी काम बाँकी रहेको छ । आयोजना अन्तर्गत सुरुङ खन्ने काम सकिए पनि अझै २७.३८ प्रतिशत काम बाँकी रहेको हो ।

आयोजनाको २६८८ मिटर लामो मुख्य सुरुङ वैशाख ३ गते र २५५७ मिटर लामो सुरुङ गत साउन २२ गते ब्रेक थ्रु गरिएको थियो । त्यस्तै, १२६ मिटर लामो वर्किङ अडिट र १२८ मिटर लामो क्रस प्यासेज निर्माण भइसकेको छ ।

नागढुंगा सुरुङमार्ग आयोजनका अनुसार बिहीबार (वैशाख ६ गते)सम्म समग्रमा ७२.६२ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, वित्तीय प्रगति ६६.८१ प्रतिशत रहेको छ ।

आयोजनाको मुख्य सुरुङ, आपतकाली सुरुङ, क्रस प्यासेज, कलभर्ट, क्रस प्यासेज लगायत निर्माण पूरा आयोजनाका निर्देशक नवीनमान श्रेष्ठले जानकारी दिए ।

अब सुरुङमार्गको फिनसिङ, लाइटिङ, अक्सिजन जडान, सडक ढलान लगायतको काम बाँकी रहेको उनले बताए । उनका अनुसार मुख्य सुरुङ फिनसिङ (कंक्रिट लाइनिङ) गर्ने काम ७४.६० प्रतिशत सकिएको छ । कुल २६८८ मिटर मुख्य सुरुङमध्ये २ हजार ५.९ मिटर सुरुङ फिनसिङ गरिएको छ ।

यसैगरी, आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको आयोजनाको सुरुङ खन्ने काम ५३ महिनापछि बल्ल ब्रेक थ्रु भएको छ । सवारीसाधन गुड्ने यो नेपालकै पहिलो सुरुङमार्ग हो । यस आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए ।

अब के-के काम बाँकी छ ?

आयोजनाको अझै ६८३ मिटर मुख्य सुरुङ कंक्रिट लाइनिङ गर्न बाँकी छ । उक्त काम सक्न कम्तीमा २/३ महिना लाग्ने आयोजनाले जनाएको छ ।

त्यस्तै, काठमाडौंतर्फबाट सुरुङमार्गको प्रवेशद्धार पुग्न बलम्बुमा फ्लाइओभर निर्माण गर्न बाँकी छ । हालसम्म फ्लाइओभरको ५ वटा सबस्ट्रक्चर निर्माण गरिसकिएको छ भने अब सुपरस्ट्रक्चर निर्माण गर्न बाँकी छ । फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ ।

त्यस्तै, सुरुङमार्गमा लाइटिङ, अक्सिजन जडान, सडक ढलान लगायतको काम बाँकी छ । उक्त काम सम्पन्न गर्न ८/९ महिना लाग्ने आयोजना निर्देश्क श्रेष्ठले बताए ।

सुरुङमार्ग संचालनको मोडालिटी टुंगो लाग्न पनि बाँकी रहेको उनले बताए ।बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमी दुई लेन सडक कालोपत्र हुँदै छ । आयोजनाका सबै बाँकी काम सकेर गाडी गुड्ने बनाउन झन्डै १ वर्ष लाग्ने उनले बताए ।

सुरुङ सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट ३ मिनेटमै धादिङको सिस्नेखोला पुगिने छ । हाल सडकमार्ग हुँदै जाँदा थानकोटबाट सिस्नेखोला पुग्न साढे ८ किलोमिटर दूरी पार गर्नुपर्छ भने सुरुङमार्गबाट जाँदा अब झन्डै ३ किमी दूरी छोटिने छ ।

आयोजना अन्तर्गत एउटा मुख्य र अर्को आपतकालीन सुरुङ रहेका छन् । मुख्य सुरुङमा केही भवितव्य परिहालेमा आपतकालीन सुरुङबाट उद्धार गर्न सकिन्छ । आपतकालीन र मुख्य सुरुङ जोड्न ७ वटा क्रस प्यासेज निर्माण गरिएको छ ।

यो सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा साढे १६ अर्ब रुपैयाँ जापान सरकारले ऋण सहयोग गरेको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ ।

फेरि म्याद थप्न प्रस्ताव

४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । सम्झौता अनुसार सुरुङमार्गको काम २०८० वैशाखामा सम्पन्न हुनुपथ्र्यो । सो समयमा नसकिएपछि कोभिडको कारण ढिलाइ भएकोभन्दै ३ महिना (२०८० साउन ४ गतेसम्म) म्याद थप गरिएको थियो ।

सो अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक २०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । दोस्रो पटक म्याद थपिएको समयमा पनि काम पूरा नभएपछि फेरि १ वर्ष म्याद थप्न प्रस्ताव गरिएको छ ।

कैलाश मानसरोवरमा एकैदिन ७ वटा माउन्टेन फ्लाइट, कति लाग्छ शुल्क ? Read Previous

कैलाश मानसरोवरमा एकैदिन ७ वटा माउन्टेन फ्लाइट, कति लाग्छ शुल्क ?

लगानी कोषले सिउरी न्यादी पावरको आइपीओ प्रत्याभूति गर्ने Read Next

लगानी कोषले सिउरी न्यादी पावरको आइपीओ प्रत्याभूति गर्ने