कैलाश मानसरोवरमा एकैदिन ७ वटा माउन्टेन फ्लाइट, कति लाग्छ शुल्क ?

काठमाडौं । रामनमवीको दिनको पहिलो प्रहर सुरू भइसकेको थिएन । नेपालगञ्जको सिद्धार्थ होटलमा अघिल्लो दिन नै आएका अधिकांश भारतीय पर्यटक नित्यकर्म सकेर तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरूले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । त्यसपछि उनीहरू सवार बस विमानस्थलतर्फ लाग्यो ।

विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो ।

हिन्दु धर्ममा कैलाश पर्वतलाई महादेवको घर मानिन्छ । महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरूको अनुहार उज्यालिएको थियो । ‘विमानले जसै ‘टेकअफ’ गरी उत्तरतर्फ उचाइ बढाउँदै गयो, यात्रीहरूको मनमा कौतुहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो । झण्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमा नजिकै पुग्यो,’ पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने ।

विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका यात्रुहरूले दुई हात जोडेर नमस्कार गरे । उनीहरूका आँखै अगाडि महादेवको घर अर्थात् कैलाश पर्वत बिराजमान थियो । उनीहरू मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे ।

यत्तिकैमा विमानमा रहेका पण्डितले यात्रुहरूको ध्यानाकर्षण गराए । सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न लगाउँदै मन्त्रोचारण गर्दै विमानभित्रैबाट पूजा सुरु गरे । सामान्य पूजा सकाएपछि उनले कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले ।

महादेवको बासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरू पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए । विमानले तीन/चार फन्को लगाइसकेको थियो ।

कैलाशलाई साक्षात दर्शन गर्न पाउँदाको खुसी यात्रुहरूहरूको आँखाबाट छल्किरहेको थियो । कोही आँखाभरी खुसीका आशु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप सुरू गरिरहेका थिए ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशब न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीस्थित ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्फत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ । यात्रीहरूको आवासीय प्रवन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ ।

एकैदिन ७ वटा माउन्टेन फ्लाइट

बुधबार रामनमवीको दिन कैलाश दर्शनका लागि सात वटा माउन्टेन फ्लाइट (पर्वतीय उडान) भयो । जसमा ८ जना नेपाली र २३४ भारतीय पर्यटकले कैलाश पर्वतको दर्शन गरेका थिए ।

कैलाश पर्वत दर्शनपछि उनीहरूले नेपालगञ्ज फर्केर रुद्राभिषेक पूजा समेत गरेका थिए । पथिल होलिडेजले नयाँ गन्तव्यका रुपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ ।

‘हाम्रा लागि भारत ठूलो बजार हो, हामीले भरतका विभिन्न सहरबाट यहाँ ल्याएर माउण्टेन फ्लाइटमार्फत कैलाश पर्वतको दर्शन गराउँछौँ,’ न्यौपानेले भने, ‘तिर्थयात्रीहरूलाई दुइतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेजमा बनाएर यात्रा सहज बनाइरहेका छौँ ।’

भारतको कलकत्ताबाट कैलाश दर्शन गर्न मङ्गलबार साँझपख नेपालगञ्ज आइपुगेकी सञ्चिता गाङ्गुलीले यो आफ्नो जीवनको महत्वपूर्ण पल भएको बताए। ‘हामी यहाँ योजना बनाएर आएका थिएनौँ, सायद महादेवको ‘ब्लेसिङ’ थियो होला, हाम्रो यो पारिवारिक ‘ट्रिप’ निकै राम्रो भयो,’ उनले भने ।

उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको सुनाए । पछिल्ला केही वर्षयता भारतीयहरू भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन् ।

गत माघदेखि नेपालगञ्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म ५०० भन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन् । साथै यही वैशाख १० गतेका लागि करिब २०० भारतीय नागरिकले बुकिङ गरिसकेको पथिल होलिडेजले बताएको छ ।

कति लाग्छ टिकट शुल्क ?

नेपालगञ्ज–कैलाश मानसरोवर यात्राका लागि भारतीय पर्यटकलाई ‘विन्डो सिट’का लागि भारु ४० हजार र सामान्य सिटका लागि भारु २१ हजार शुल्क निर्धारण गरिएको छ । भारु ४० हजार शुल्क तिर्ने पर्यटकलाई एक रात आवास तथा खानाको समेत प्रबन्ध गरिएको छ ।

त्यस्तै, नेपालीहरूको हकमा भने ‘विन्डो सिट’का लागि २८ हजार रुपैयाँ र साधारण सिटका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

 

 

लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सुरू, दीगो लेखा अभ्यासमा जोड Read Previous

लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सुरू, दीगो लेखा अभ्यासमा जोड

नागढुंगा-नौबिसे सुरुङमार्गको अझै २७% काम बाँकी, कहिलेदेखि गुड्छन् गाडी ? Read Next

नागढुंगा-नौबिसे सुरुङमार्गको अझै २७% काम बाँकी, कहिलेदेखि गुड्छन् गाडी ?