काठमाडौं । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशत बिन्दुसम्मले घटाएका छन् ।असोजसम्म व्यक्तिगत निक्षेपको ब्याजदर बढाएका बैंकहरूले कात्तिकदेखि घटाउन थालेका थिए । त्यसयता व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साढे ४ प्रतिशत बिन्दुसम्म घटाएका हुन् ।
कात्तिकदेखि वाणिज्य बैंकहरूले लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । यो ७ महिनाको अवधिमा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ३.१९ प्रतिशत बिन्दुले घटाएका छन् । गत असोजमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर १०.२६ प्रतिशत रहेकोमा चैतसम्म आइपुग्दा ७.०७ प्रतिशतमा झरेको छ ।
त्यस्तै, यही अवधिमा संस्थागत मुद्दतीको ब्याजदर २.३२ प्रतिशत बिन्दुले घटाएका छन् । गत असोजमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर औसतमा ८.१९ प्रतिशत बिन्दु रहेकोमा वैशाखमा ५.८७ प्रतिशतमा झरेको छ ।
अर्थतन्त्रमा आएका संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाएका हुन् । ब्याजदर सस्तिँदा पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले आफ्नो खर्च घटाउन निक्षेपको ब्याजदर घटाएका हुन् ।
चालु वर्षको सुरूदेखि नै बढ्दो रेमिट्यान्स, आयात घट्नु, कर्जाको माग नहुनु लगायत कारणले एकोहोरो निक्षेप बढिरहेको छ । चालु वर्षको ८ महिना (फागुन मसान्तसम्म) मात्रै ४ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांक छ । तर, यस अवधिमा कर्जाको माग नबढ्दा बैंकहरूले संकलन गरेको निक्षेपको आधा रकम पनि लगानी गर्न सकेका छैनन् । फागुनसम्म बैंकहरूले २ खर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।
व्यवसाय विस्तार गर्न नसकेपछि बैंकहरूले आफ्नो खर्च घटाउन महिनैपिच्छे निक्षेपको ब्याजदर घटाएका हुन् । विगतमा महँगोमा उठाएको निक्षेप लगानी गर्न नसक्दा ब्रैंकहरूलाई अहिले भारी भएको छ । बैंकहरूले ब्याज खर्च घटाई लागत कम गर्न निक्षेपको ब्याजदर घटाएका हुन् । गत वर्ष प्रणालीमा तरलता अभाव हुँदा बैंकहरूले निक्षेपको ब्याज १२ प्रतिशतसम्म थिएका थिए भने अहिले पैसा फालाफल भएपछि ब्याजदरमा भारी कटौती गरेका हुन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसक्दा उल्टो लागत बढेपछि कात्तिकदेखि ब्याजदर लगातार घटाउँदै आएका हुन् ।
साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेपछि त्यस यता बैंकहरूले आफूखुसी स्वतन्त्र रूपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।
निक्षेपको ब्याजदर घट्दा कर्जाको समेत ब्याजदर घट्ने भएकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । तर, बैंकमा निक्षेप राखेर ब्याज खानेहरूलाई भने घाटा लागेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार निक्षेपमा मुद्दतीको हिस्सा ५८.७ प्रतिशत छ ।
हाल बैंकिङ प्रणालीमा ५ खर्ब बढी तरलता छ । तर, कर्जाको माग बढ्न नसक्दा बैंकहरूले राष्ट्र बैंकले दिएको स्थायी निक्षेप सुविधा अन्तर्गत ३ प्रतिशत ब्याजदरमै पैसा राखिरहेका छन् । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई समेत हम्मेहम्मे परिरहेको छ । राष्ट्र बैंकले हप्तैपिच्छे प्रणालीबाट अर्बौं रुपैयाँ खिचिरहेको छ ।
सरकार र नेपाल राष्ट्र बैंकले कर्जाको माग बढाउन नीतिगत लचकता अपनाउँदै आए पनि अपेक्षित रूपमा माग बढ्न सकेको छैन । बजारमा उपभोग्य वस्तुको माग र उद्यमीको मनोवल नबढ्दा अझै कर्जाको माग नबढेको जानकारहरू बताउँछन् ।
कुनले कति घटाए निक्षेपको ब्याज ?
कात्तिक यता व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साढे ४ प्रतिशत बिन्दुसम्मले घटेको छ । जसमा सरकारी स्वामित्वको कृषि विकास बैंकले सबैभन्दा धेरै ४.३५ प्रतिशत बिन्दुले घटाएको छ । कृषिले कात्तिकमा १०.१ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर वैशाखमा ५.६६ प्रतिशतमा झारेको छ ।
यस अवधिमा अरु ३ बैंकले पनि ४ प्रतिशत बिन्दुभन्दा धेरैले निक्षेपको ब्याजदर घटाएका छन् । प्राइम कमर्शियल ४.२६ प्रतिशत, एभरेष्ट ४.०५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाले ४.०३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् ।
त्यसैगरी, नबिलले ३.८० प्रतिशत, हिमालयन बैंकले ३.५५ प्रतिशत, ग्लोबल आइएमई ३.५० प्रतिशत, नेपाल एसबीआई ३.८७ प्रतिशत, एनआइसी एशिया ३.२८ प्रतिशत, कुमारी ३.२४ प्रतिशत लक्ष्मी सनराइज र प्रभुले समान ३ ३ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएका छन् ।
यस्तै, यस अवधिमा ८ वटा बैंकले २ देखि ३ प्रतिशत बिन्दुको बीचमा ब्याजदर घटाएका छन् । स्ट्याण्डर्ड चार्टले सबैभन्दा कम १.९२ प्रतिशत बिन्दुले मात्र ब्याजदर घटाएको छ । यद्यपि, कात्तिकमा चार्टको ब्याजदर अरु बैंकको तुलनामा निकै कम थियो ।