ज्योति विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक, खराब कर्जा सीमा नजिक पुग्यो

काठमाडौं । ज्योति विकास बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २४.४० प्रतिशतले घटेको हो ।

चालु आवको चैत मसान्तसम्म ज्योतिले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ४ करोड ९२ लाख रुपैयाँ कम हो । गत वर्ष चैतसम्म बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीमा झिनो सुधार आए पनि संचालन नाफा घट्दा र इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफामा असर परेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । बैंकको संचालन नाफा भने २३.३१ प्रतिशतले घटेर २२ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको खराब कर्जा बढेपछि ८३ करोड २ लाख रुपैयाँ प्रोभिजन गरेको छ । चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

हाल ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.२१ रुपैयाँबाट घटेर ४.६२ रुपैयाँमा सीमित भएको छ ।

कर्जा असुली नहुँदा बैंकको खराब कर्जा बढेर ३.८९ प्रतिशतबाट ४.९७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३४.२० रुपैयाँ, मूल्य आम्दानी अनुपात ६३.५९ गुणा, बेसरेट ९.९८ प्रतिशत रहेको छ ।

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड Read Previous

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

कात्तिक यता साढे ४ प्रतिशत बिन्दुसम्म घट्यो ब्याजदर, कुनले कति घटाए ? Read Next

कात्तिक यता साढे ४ प्रतिशत बिन्दुसम्म घट्यो ब्याजदर, कुनले कति घटाए ?