काठमाडौं । कृषि विकास बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
बैंकले ६ प्रतिशत बोनस र कर प्रयोजनसहित २४ प्रतिशत नगद दिने घोषणा गरेको हो । बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत धेरै हो।
साथै बैंकले सरकारको अग्राधिकार शेयर वापतको पूँजी ५ अर्ब ४३ करोड पूँजीमा समेत ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
