काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा यसबारे चर्चा पनि चुलिन थालेको छ । भ्रमण वर्षकै लागि भनेर स्थानीयदेखि प्रदेश सरकार सबै आ-आफ्ना ठाउँमा चटारोमा रहेका छन् । तर, तयारी स्वरुप प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले दिएको बजेटमा भने असन्तुष्टि देखिएको छ ।
निजी तथा सरकारी क्षेत्र समेतलाई गरी भ्रमण वर्षका लागि कूल ६१ करोड ६४ लाख बजेट विनियोजन भएकोमा प्रत्येक प्रदेशलाई जम्मा २५/२५ लाख रुपैयाँ बजेट दिइएको कारण उनीहरुमा असन्तुष्टि देखिएको हो ।
भ्रमण वर्ष २०२० प्रदेश २ का संयोजक मनिष झा बजेटको रकम नै हास्यास्पद भएको बताउँछन् । उनी सरकारले भ्रमण वर्षको तयारीका लागि प्रदेशलाई २५ लाख रुपैयाँ बजेट बाँढ्नु भनेको जिस्काए जस्तो भएको बताउँछन् ।
‘सबै खर्च आफ्नै खल्तीबाट निकाल्नु परेको छ । यो त जिस्काए जस्तो भयो, यती पैसाले के नै गर्न पुग्छ र ?,’ उनले चाणक्य पोष्टसँग भने ।
सरकारले भ्रमण वर्षलाई छुट्याएको कूल रकमको ०.४० प्रतिशत रकम मात्र आफूलाई तयारीको लागि दिइएको उनले बताए । ‘यो काम निकै चुनौतिपूर्ण रहेको छ’, उनी भन्छन् ।
यसैगरी सुदूरपश्चिमका भ्रमण वर्ष संयोजक प्ररमानन्द भण्डारी सरकारले दिएको रकमले सेमिनार गर्न र चिया–बिस्कुट खान मात्र पुग्ने बताउँछन् ।
उनले यति रकमले कुनै प्रदेशले पर्यटनमा राम्रो सुधार ल्याउन नसक्ने बताए । ‘पैसा नलाग्ने काम मात्र हो हामीले गर्ने । पैसा हालेर गर्नुपर्ने पर्यटन प्रबद्र्धन सम्बन्धी काम हामीले गर्न सम्भव नै छैन । त्यो त निजी क्षेत्रले गरिरहेका छन्’ भण्डारीले भने ।
उनी भ्रमण वर्षको तयारी स्वरुप निजी स्तरबाट बढी काम भइरहेको तर, सरकारी स्तरबाट काममा कुनै गति नआएको बताउँछन् । उनी हाल २ वटा बैठक बसिसकेको र सुदूरपश्चिमका ९ वटा जिल्लामा प्रत्येक जिल्लामा एउटा गन्तव्य तोक्ने तयारी भइरहेको बताउँछन् ।उनले देखिने गरी काम हुन नसकेको स्वीकार पनि गरेका छन् ।
भ्रमण वर्ष २०२० अभियानका उप–सचिव राजन पौडेल भने भ्रमण वर्षको तयारी प्रदेशले मात्र नभई स्थानीय तहसँग मिलेर गरिने भएकाले कम बजेट दिइएको बताउँछन् । ‘हरेक प्रदेशले आफ्नो स्थानीय तहसँग सहकार्य गरेर कार्यक्रम तयार गर्न सक्ने व्यवस्था भएकाले थोरै रकम दिइएको हो,’ उनले भने ।
हाल विदेशमा गएर भ्रमण वर्षको प्रचारप्रसार गर्ने काम भइरहेको उनले बताए । अब चाँडै भ्रमण वर्ष प्रचारका लागि एउटा टोली ओमान जाँदै छ । थाइल्याण्ड र भारतमा प्रचारप्रसारको काम भइसकेको र चीनमा प्रचारप्रसारको काम भइरहेको उनले बताए ।
हालसम्म भ्रमण वर्षको लागि विनियोजन गरिएको बजेट मध्ये ७ करोड रुपैयाँ हाराहारी मात्र खर्च भएको छ ।