काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीयम संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको गत चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ३०.३४ प्रतिशतले बढेको छ ।
लघुवित्तले चैत मसान्तसम्म ११ करोड २१ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ६१ लाख रुपैयाँ बढी हो । गत वर्ष चैतसम्म लघुवित्तले ८ करोड ६० लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र खराब कर्जा असुली हुँदा नाफामा वृद्धि भएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.४८ प्रतिशत घटेर १८ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा सञ्चालन नाफा भने ३०.३० प्रतिशत बढेर १६ करोड १ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तले ५५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ६५ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ११ करोड २७ लाख र जगेडा कोषमा १२ करोड ४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको वितरणयोग्य मुनाफामा ८ करोड ६१ लाख रुपैयाँ छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १३.९१ रुपैयाँबाट बढेर १५.८३ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२४.६९ रुपैयाँ रहेको छ । यस अवधिमा खराबकर्जा दोब्बरले बढेर २.९९ प्रतिशत पुगेका छ।